काठमाडौं । विशेष अदालत काठमाडौंले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई ५० लाख रूपैयाँ धरौटी राखी थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने आदेश गरेको छ ।
सोमबार न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले १ अर्ब रूपैयाँ बढीको माग दाबी गरिएको भ्रष्टाचार मुद्दामा धरौटी राख्ने अनुमति दिएको हो ।
कर फस्र्योट आयोग–२०७१ का पदाधिकारी तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणिसहित ३ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७८ असार ९ मा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । लुम्बध्वज र उमेशप्रसादको आइतबार थुनछेक बहस भएको थियो । दुवैलाई जनही ५० लाख रूपैयाँ धरौटी मागिएको थियो ।
धरौटी मागेअनुसार मुद्दाका प्रतिवादीले जनही ५० लाख अदालतमा बुझाएका छन् । लुम्बध्वज र उमेशप्रसादले आइतबार तोकिएको धरौटी बुझाएका हुन् । अदालतको यो अन्तिम निर्णय भने होइन । अदालतले मागेको धरौटी बुझाएपछि उनीहरू पुर्पक्षका लागि थुनामा बस्नुपर्ने छैन । उनीहरू थुनाबाहिरै बसेर मुद्दाको अनुसन्धान हुने भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ अर्ब ३३ लाख २० हजार ३८५ रूपैयाँ माग दाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
चूडामणि सोमबार विशेष अदालतमा थुनछेक बहसमा उपस्थित भएका थिए । उनले अदालतमा उपस्थित हुँदा कर फस्र्योट आयोगले आफ्नो दायराबाहिर गएर कुनेै काम नगरेको बयान दिएका थिए ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।