काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले अहिले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आतंक भएको बताएका छन् ।
बिहीबार अखिल क्रान्तिकारीको २२ औ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्रका विरुद्ध उभिने ओलीले आतंक मच्चाएको बताएका हुन् । उनले भने, ‘अहिले गाउँमा केपी ओली आतंक छ। जो गणतन्त्रका विरुद्धमा उभियो त्यसैको आतंक छ ।’
अध्यक्ष प्रचण्डले कमल थापाको पनि आतंक भएको बताए । उनले भने, ‘कमल थापा आतंक, कहाँबाट कहाँ पुगेकाहरुको आतंक छ । अनि हामीलाई टुक्रा टुक्रा पार्यौ भनेर उनीहरु दंग परेका छन् ।’
उनले आलोचकले माओवादीलाई धेरै पटक सिद्धिए भनेपनि नसिद्दिएको बताए । पोहोरमात्र पनि प्रचण्ड सिद्धिए भनेको सुनेको भन्दै उनले त्यस्तो सुन्दा दुख लाग्ने गरेको बताए ।
उनले पार्टीलाई अघि बढाउन सक्ने कोही भए आफू बसेर किताब लेख्ने भएपनि त्यसरी गर्ने कोही नभएको बताए । सोही कारण उनले एकपटक अन्तिम लडाई लड्ने पनि बताए ।