Logo
Logo

विदेशी मुद्रा सञ्चिति एकै महिनामा ४५ अर्ब घट्यो


693
Shares

काठमाडौं । मुलुकको विदेशी मुद्रा सञ्चिति ३० दिनमा करिब ४५ अर्ब रुपैयाँले घटेको छ । आयातमुखी अर्थतन्त्र भएको नेपालमा विदेशी मुद्रा कम हुँदै गएमा अत्यावश्यक वस्तु आयातमा समेत कडाइ गर्नुपर्ने अवस्था आउन सक्ने राष्ट्र बैंकका अधिकारीहरूको भनाइ छ ।

मुद्रा बाहिरिने क्रम तीव्र गतिमा बढेपछि एकै महिनामा करिब ३३ करोड अमेरिकी डलरको सञ्चिति घटेको हो । सामान निर्यात गरेर विदेशी मुद्रा ल्याउने नेपालको अवस्था सधैं नाजुक छ । नेपालमा विदेशी मुद्रा आउने प्रमुख माध्यम ‘रेमिट्यान्स’ हो । तर पछिल्ला महिनामा रेमिट्यान्स वृद्धि भएको छैन, त्यस्तै अर्को स्रोत पर्यटन पनि ठप्प छ । विदेशी मुद्रा आप्रवाह कम भए पनि उपभोग्य वस्तु आयातका लागि निरन्तर विदेशी मुद्रा बाहिर पठाउनुपर्दा सञ्चिति घटेको हो ।

चालु आर्थिक वर्षको पहिलो र दोस्रो महिना (साउन र भदौ) मा आयात वृद्धि उच्च रहेकाले सञ्चितिमा दबाब परेको अर्थविद्हरू बताउँछन् । गत साउन र भदौमा १ खर्ब ५० अर्बका दरले वस्तु र सेवा आयात भएको छ । यो औसतभन्दा बढी हो । गत आर्थिक वर्षमा मासिक औसतमा ८० देखि ९० अर्ब बराबर आयात हुँदै आएको थियो ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्