काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका लागि अधिवेशन गर्ने भएको छ । वडा, पालिका, प्रदेश सभा क्षेत्रीय अधिवेशन सकेका जिल्लाहरूमा आज प्रतिनिधिसभा क्षेत्रीय सभापतिदेखि कार्यसमितिका लागि निर्वाचन गर्न लागेको हो ।
प्रतिनिधिसभा क्षेत्रबाट २४ जना र क्षेत्रीय सभापतिसहित २५ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । तिनै महाधिवेशन प्रतिनिधि मंसिरमा हुने १४ औं केन्द्रीय महाधिवेशनका मतदाता हुन् ।
एकमात्र प्रतिनिधिसभा क्षेत्र भएका ठाउँमा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिमा एकै व्यक्तिले उम्मेदवारी दिन पाउँदैनन् । तर, एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएका जिल्लामा भने महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिमा एकै व्यक्तिले उम्मेदवारी दिन पाउँछन् । कांग्रेसले यही असोज १८ मा २१ वटा हिमाली जिल्लामा जिल्ला अधिवेशन गर्दैछ ।