Logo
Logo

कृषकको गुनासो : ‘धान पाक्यो तर भित्र्याउन पाइएन’


945
Shares

कैलाली । असोजको महीना किसानका लागि महत्वपूर्ण महीना हो । कैलालीको भजनी नगरपालिकाका किसान रामबहादुर चौधरीले १० बिघामा धानखेती गरेका छन् । असारमा रोपेको धान भित्र्याइने समय भइसक्दा पनि रामबहादुरको खेतमा पानी कम भएको छैन ।

‘धान पाकेर खेतमै झर्ला जस्तो भइसक्यो, मौसमले अझै साथ दिएको छैन’, उनी भन्छन्, ‘यसरी वर्षा भइरहने हो भने त धान भित्र्याउन निकै समस्या हुने देखिएको छ । आकाशमा बादल मडारियो भने कतै पाकेको धानबाली नष्ट गर्छ कि भन्ने त्रासले मन पनि त्यसैगरी मडारिन्छ ।’

यो समयमा किसान खेतमा हुनुपर्ने भए पनि मौसमको खराबीका कारण पाकेको धान भित्र्याउन समस्या भएको छ । मौसममा सुधार नभएका कारण किसान त्रस्त छन् । जिल्लाका अधिकांश क्षेत्रमा धानको खेती हुन्छ ।

हिउँदे खेती कम हुने भए पनि बर्खेखेती प्रायःसबै किसानले गर्ने गरेका छन् । अहिले दैनिकजसो वर्षा हुने गरेको छ । वर्षासँगैको हावाहुरीका कारण धान खेतमै ढल्ने र पानीले तल्लो भाग गलेर पराल पनि काम नलाग्ने हुन थालेको छ ।

टीकापुर नगरपालिकाका रतिराम विकले पाँच बिघा जमीनमा धानखेती गरेका छन् । दिनमा मौसम सफा भएपछि उनले केही धान काटे तर राति परेको झरीले सबै काटेको धान भिजाउँदा अहिले धान र पराल कामै नलाग्ने अवस्थामा पुगेको उनी बताउँछन्। ‘दिनमा घाम लाग्छ सुक्छ । राति पानी आउँछ फेरि भिजाउँछ’ , रतिराम भन्छन्, ‘काटेको धान खेतमै सड्ने भयो, नकाटेको झरेर सकिने भयो । मौसम सफा हुने कुनै छाँटकाँट देखिएकै छैन ।’, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्