काठमाडौं । निजामती सेवामा सबैभन्दा आकर्षक जागिर भन्सारको मानिन्छ । भन्सारका नासुले पनि केही वर्षमै घर बनाउँछन् भन्ने सुनिन्छ ।
तर, नेपालको भन्सार प्रशासनमा एक यस्ता हाकिम छन् जो अझै डेरामा बस्छन् । भन्सार विभागका महानिर्देशक नारायण सापकोटाको वास्तविकता हो यो । लामो समय भन्सारमा काम गरिसकेका सापकोटाको निजामतीमा फरक पहिचान छ । सादा जीवन रुचाउने उनी सम्पत्ति जोगाउने भन्दा डेरामै खुशी छन् ।
करिब एक महिनाअघि मात्र सरकारले उनलाई भन्सार विभागको महानिर्देशक बनाएको हो । केही वर्षअघि एयरपोर्ट भन्सारमा हुँदा आधा कर्मचारीलाई कारबाही गरेर उनले भन्सारमा शुद्धीकरण गरेर चर्चा कमाएका थिए ।
त्यसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गर्दा पनि उनले उत्कृष्ट काम गरेका थिए । अख्तियारको बर्दिबासस्थित कार्यालयको प्रमुखका रुपमा उनले सबैभन्दा धेरै स्टिङ अप्रेसन गरेका थिए ।
निजामती प्रशासनमा प्रो एक्टिभ र इमान्दार प्रशासकको छवी उनको छ । संगठित रुपमा ठूलो अनियमितता हुने गरेको आरोप रहेको भन्सार प्रशासनलाई सुधार गर्ने चुनौतीपूर्ण जिम्मेवारीमा उनी यतीबेला पुगेका छन् । विभागको महानिर्देशक बनेको पहिलो महिनामै भन्सार राजश्व पहिलाभन्दा बृद्धि भइसकेको विभागका एक कर्मचारी बताउँछन् ।
कुनै कर्मचारीले बदमासी गरेको पाइएमा तत्कालै अख्तियार र राजश्व अनुसन्धान विभागमा छानबिनका लागि पठाउने चेतावनी हालैको बैठकमा उनले दिएका छन् ।