काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीले धोका र छलकपटको नीति लिएका कारण आफूले हेडक्वार्टरमा ‘बमबारी’ गरेको बताएका छन् । तत्कालीन नेकपाको अध्यक्ष हुँदा ओलीले छलपट गरेकाले उक्त निर्णय गरेको उनको भनाइ छ ।
माओवादीको प्रदेश सम्पर्क समिति भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘मैले पेश गरेको डकुमेन्ट भनेको बमवार्ड द हेडक्वाटर हो, जसरी माओत्सेतुङले बमबार्ड त बुर्जुवा हेर्डक्वाटर भनेर पार्टीकै लिडरसीपमाथि प्रहार गर्ने कुरा गर्नुभएको थियो, मैले त्यस्तै गरेको हुँ ।’
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र आफ्नो पार्टीका अध्यक्षविरुद्ध विद्रोह गर्ने कुरा अलिकति गम्भीर रहेको बताउँदै देश दुर्घटनामा पर्न नदिन आफूले उक्त कदम चालेको बताए । ओली प्रधानमन्त्री हुँदा आफू तीन वर्ष बालुवाटारमा बन्दी भएको समेत उनले बताए ।
‘बिहानै बालुवाटार, बेलुकै बालुवाटार, म वाक्क भएको थिएँ’ अध्यक्ष प्रचण्डले भने, ‘माओवादी आन्दोलनको, जनयुद्धको कमाण्डर दिनदिनै जनयुद्ध, संघीयता र धर्मनिरपेक्षताविरोधी केपी ओलीसँग भेट्न जाँदा मलाई कस्तो भयो होला ! म मौकाको पर्खाइमा थिएँ । जब ओलीले प्रतिनिधिसभा विघटन गरिदिए, म मुक्त भएजस्तो लाग्यो ।’