काठमाडौं । मन्त्रालयमा मन्त्री नभएका बेला कर्मचारीहरूले कसरी आफूलाई कार्यक्षेत्र बाहिरसमेत सक्रिय बनाउँछन् भन्ने गतिलो उदाहरण फेला परेको छ ।
गत साता मुलुकमा भएको एउटा विमानको आकस्मिक अवतरणको आडमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बेवास्ता गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नै मन्त्रालयका सहसचिवको नेतृत्वमा एउटा छानबिन समिति गठन गरेको छ ।
विभागीय मन्त्रीका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेका बेला बनाइएको यो छानबिन समिति प्रथम दृष्टिमै त्रुटिपूर्ण रहेको यस क्षेत्रका विज्ञले औंल्याएका छन् । ‘छानबिन समितिको गठन र त्यसलाई तोकिएका कार्यक्षेत्र हेर्दा यो प्रथम दृष्टिमै त्रुटिपूर्ण देखिएको छ,’ प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमले भने, ‘नेपालको हवाई क्षेत्रको एकमात्र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको सम्पूर्ण नियमनसम्बन्धी कार्यक्षेत्र र नेपालमा सञ्चालनमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी वायुयान तथा त्यसका चालक दलका सदस्यहरूका साथै वायु सेवाको प्राविधिक क्षेत्रका कार्यसमेत उक्त समितिलाई सुम्पिएको छ ।’
मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा बनाइएको पाँच सदस्यीय समितिलाई दिइएको कार्यक्षेत्रका आधारमा अब नागरिक उड्डयन प्राधिकरणको कुनै काम नभएको देखाउन खोजिएको पर्याप्त छ ।
यस क्षेत्रको नियमनसम्बन्धी सम्पूर्ण जिम्मेवारी प्राधिकरणको हो । तर, मन्त्रालयको कुनै एउटा महाशाखा हेर्ने कर्मचारीबाट नियमन गर्ने निकायको सम्पूर्ण काम गराउन खोज्नुको तात्पर्य नबुझिएको विज्ञहरूले बताएका छन् ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।