काठमाडौं । शुक्रबारदेखि सुरु भएको नेकपा एमालेको विधान महाधिवेशन आज (आइतबार) समापन हुँदैछ । ६ हजारभन्दा बढी प्रतिनिधिका बीच भएको महाधिवेशनको आजको पूर्ण सत्र बिहान ८ बजेदेखि नै सुरु हुने जनाइएको छ ।
शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसमाथि छलफलका लागि शुक्रबारै १० वटा समूह गठन गरिएको थियो ।
१० मध्ये ५ समूहले शनिबार नै आफ्नो रिपोर्ट प्रस्तुत गरिसकेका छन् । शनिबार कर्णाली प्रदेश समूह, केन्द्रीय निकाय र केन्द्रीय विभाग समूह, लुम्बिनी प्रदेश समूह, सुदूरपश्चिम समूह र बागमती प्रदेश समूहले आफ्नो समूहमा भएको छलफलको रिपोर्ट प्रस्तुत गरेका हुन्
शनिबारै दिउँसो २ बजेपछि सुरु भएको पूर्ण सत्रमा अनुशासन आयोगका तर्फबाट अमृत बोहरा, लेखापरीक्षण आयोगका तर्फबाट पुष्प कँडेल र सल्लाहकार परिषद्को तर्फबाट केशव बडालले प्रतिवेदन पेस गरेका थिए । ती तीन वटै प्रतिवेदन शुक्रबार नै प्रस्तुत गर्ने कार्यसूची रहेको भए पनि समय अभावका कारण शनिबार मात्रै प्रस्तुत गरिएका हुन् ।
आइतबार प्रदेश १ समूह, प्रदेश २ समूह, गण्डकी प्रदेश समूह, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्रबाट आएकाहरुको समूह र जनसंगठनहरुको समूहको तर्फबाट रिपोर्ट प्रस्तुत हुनेछ ।
यस्तै आजै बिहान ११ बजे पार्टी प्रवेश कार्यक्रम राखिएको छ भने खानाको समय हुनेछ । १ बजेपछि दस्तावेज प्रस्तुतकर्ता ओली, पोखरेल र पौडेलले जवाफ दिनेछन् । ४ बजे महाधिवेशन समापन गर्ने कार्यसूची राखिएको छ ।