Logo
Logo

मन्त्रीबारे आज पनि माओवादीले छलफल गर्दै


1.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा आज छलफल गर्ने भएको छ । मन्त्रीहरुबारे छलफल गर्न आज स्थायी कमिटी बैठक बस्ने तयारी छ ।

प्रवक्ता कृष्णबहादुर महराले शनिबारको स्थायी कमिटी बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै आइतबारको बैठकमा मन्त्रीहरुबारे छलफल गर्ने बताएका थिए ।

सत्ता गठबन्धनका दलहरुको असोज ६ गते बसेको बैठकमा एक साताभित्र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको थियो । मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेपछि देउवाको आलोचना भइरहेको छ ।

सरकारमा हाल माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् । यस्तै कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री, बालकृष्ण खाँण गृहमन्त्री, डा. नारायण खड्का परराष्ट्रमन्त्री र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् ।

गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक जनालाई पनि सरकारमा पठाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्