काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णु पौडेलले पार्टीभित्र कसैको पनि फरक मत नरहेको दावी गरेका छन् ।
एमाले विचार, संगठन सहित सबै हिसाबले एकताबद्ध भएको उनले बताए । संगठन बिभाग प्रमुख समेत रहेका उपमहासचिव पौडेलले विधान महाधिवेशनबाट एमाले थप एकताबद्ध भएको बताए ।
‘पार्टीको विधान महाधिवेशन सम्पन्न भएको छ । विधान महाधिवेशनमा कसैले पनि फरक मत दर्ज गर्नुभएको छैन्’ पौडेलले भने, ‘अपौचारिक रुपमा कसैले पनि फरक मत दर्ज नगर्नु भनेको पार्टी विचार, संगठनसहित सबै हिसाबले थप एकताबद्ध भएको पुष्टि हुन्छ ।’
एमाले उपमहाचिव घनश्याम भुसालप्रति संकेत गर्दै उनले प्रथम विधान महाधिवेशनमा कसैले पनि औपचारिक रुपमा फरक मत दर्ज नगराएको बताएका हुन् । महाधिवेशनमा पेश भएका विभिन्न दस्तावेजहरु प्रतिनिधिहरुको सुझाव पश्चात संशोधन सहित पारित भएको र अब तोकिएकै समयमा १० औं महाधिवेशन सम्पन्न हुने उनले बताए ।
विधान महाधिवेशनमा देशैभरीका सहभागी प्रतिनिधिको सहभागीताले पार्टी विभाजन नभएको पुष्टि भएको उनले बताए । प्रतिनिधिहरुको उपस्थिति, त्यहाँ भएको छलफल र रिर्पोटिङपछि पार्टी विभाजन नभएको निष्कर्ष सही सावित भएको उनले बताए ।
उपमहासचिव पौडेलले माधव नेपालप्रति संकेत गर्दै स्वार्थवश, कुण्ठावश, इस्र्यावश केही साथीहरु अलग भएको र भ्रममा परेर पार्टी छोडेकाहरू पुनः फर्किने क्रम सुरु भएको बताए । भ्रममा परेर अलमलमा परेका साथीहरुलाई फर्काउने काम पनि भइरहेको उनले बताए ।