काठमाडौं । ३८ सय केजी सुन तस्करीमा मुछिएका ठूला व्यापारी र प्रहरीले सफाइ पाएका छन् । गोरे भनिने चुडामणी उप्रेतीसहित ८ जनालाई मात्र सजाय भएको छ ।
मोरङका जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले चूडामणि उप्रेती गोरे, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो।
यस्तै, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ। सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई अपहरण तथा शरीर बन्धकमा पनि सजाय गरिएको छ। फरार २२ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको छ। अन्य आरोपीलाई भने अदालतले सफाइ दिएको छ। यससँगै नौ प्रहरीले पनि सफाइ पाएका छन् ।
यसमा मुछिएका पूर्व डिआइजी गोविन्द निरौला, वर्तमान डिआइजी दिवेश लोहनी, एसएसपी श्याम खत्री, एसपी विकासराज खनाल र प्रजित केसी, डिएसपी संजयसिंह राउत, सइ बालकृष्ण सञ्जेल र दुई हवल्दारले सफाइ पाएका हुन् ।
धेरैले सफाइ पाएपछि अनुसन्धानमा आबद्ध अधिकारीले आश्चर्य व्यक्त गरेका छन् । हतार हतार फैसला हुन लागेकाले पनि यसमा चलखेलको आशंका गरिएको थियो ।