Logo
Logo

‘प्रदेश २ सरकारलाई बदनाम गर्न षड्यन्त्र भइरहेको छ’


378
Shares

धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकारलाई बदनाम गर्ने प्रयास भइरहेको बताएका छन् । बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मार्नु सरकारलाई बदनाम गर्ने प्रयास भएको बताए । केही अघिमात्र अख्तियारले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको थियो ।

मुख्यमन्त्री राउतले एक्कासी छापा मार्नुलाई हस्तक्षेप भएको भएको बताउदै भने, ‘यदि त्यसमा कुनै त्रुटि छ भने, फाइल कमजोर छ भने बोलाएर सोध्न सक्नुहुन्छ । तर यो अट्याक हो ।’

मुख्यमन्त्री कार्यालयले ‘बेटी बचाऊ बेटी पढाउ’ कार्यक्रमअन्तर्गत गत वर्ष प्रदेशभरका ८ कक्षाका छात्रालाई साइकल वितरण गरेको थियो । सो कार्यक्रम पारदर्शी नभएको भन्दै समाचार प्रकाशन भएपछि अख्तियारले गत हप्ता छापा मारेको थियो । अख्तियारको छापालाई राजनीतिक दलले एजेण्डा बनाउन नहुने बताउँदै मुख्यमन्त्री राउतले भने, ‘संवैधानिक निकाय हो काम गर्न पाउनुपर्छ, तर राजीतिक दलले यसलाई एजेण्डा बनाउनुहुँदैन ।’

आफू सुशासन र पारदर्शिताको पक्षपाती रहेको भन्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई बदनाम गर्न अनेक षड्यन्त्र भइरहेको बताए । ‘यो त संस्थामाथिको हमला हो,’ उनले भने, ‘प्रदेश सरकारलाई बदनाम गर्न अनेक प्रकारका षड्यन्त्र भइरहेको छ ।’

उनले प्रदेशसभा सदस्यहरु नै आफ्नो लागि न्यायाधीश हुने बताए । संघीयतालाई कमजोर बनाउने र समाप्त पार्ने सुरु देखिको खेल अन्तर्गत प्रदेश २ लाई नै बारम्बार निशाना बनाउँदै आएको उनको भनाइ थियो ।

आफ्नो नेतृत्वको सरकारले संघीयतालाई संस्थागत गर्न सुरुदेखि नै दह्रो खुट्टा टेक्ने प्रयास गरेको बताउँदै उनले सात प्रदेशमध्ये कुनै पनि प्रदेशले आँट नगर्दा प्रदेश २ सरकारले प्रदेश प्रहरी ऐन ल्याएको बताए । मुख्यमन्त्री राउतले आजै विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्