Logo
Logo

दसैंका सामान उत्तरी नाकामै रोकिए


441
Shares

काठमाडौं । जुत्ता व्यवसायी देवेन्द्र कुमारले दसैंलाई लक्षित गरेर चीनबाट ल्याएका दुई गाडी जुत्ताचप्पल तीन महिनादेखि केरुङ नाकामा रोकिएका छन् । जुत्ता नआएपछि देवेन्द्र दसैंमा के बेच्ने भन्ने चिन्तामा छन् । ‘अहिलेसम्म कोभिडले व्यापार भएको थिएन,’ उनले भने, ‘दसैंमा जुत्ताचप्पल बेचौंला भनेको, ती सामान बोकेर आएका गाडी सीमानाकापारि नै रोकिए।’

दसैंका लागि नेपाली व्यापारीले खरिद गरेका सामान बोकेर चीनको गोन्जाउ सहरबाट नेपालतर्फ हिँडेका करिब आठ सय गाडी उत्तरी सीमावर्ती चिनियाँ क्षेत्रमा रोकिएका छन् । कोभिडका कारण चिनियाँ पक्षले तातोपानी र केरुङ नाकाबाट थोरै गाडीमात्र पास गरेकाले सामान अड्किएका हुन् ।

कोभिड सुरु हुनअघि दैनिक करिब दुई सय ५० मालवाहक गाडी नेपाल भित्रिने केरुङ नाकाबाट अहिले मुस्किलले नौ गाडीसम्म आउने गरेको अवस्था छ । त्यसैगरी, तातोपानी नाकाबाट पनि सोही हाराहारीमा सामान आयात भैरहेको छ ।

नेपाली व्यापारीले खरिद गरेका सामान बोकेर आएका करिब आठ सय गाडी चिनियाँ सीमा क्षेत्रमा रोकिएको हिमालय सीमापार वाणिज्य संघका महासचिव भरत कार्कीले बताए । ‘केरुङ र तातोपानी हुँदै आउने करिब आठ सय गाडी सामान उतै सीमापारि रोकिएका छन्,’ कार्कीले नागरिकसँग बुधबार भने, ‘दसैंका सामान रोकिएपछि व्यापारीको बिचल्ली भएको छ।’ संघका अनुसार केरुङतर्फ करिब साढे छ सय र तातोपानी नाकातर्फ डेढ सय मालवाहक गाडी रोकिएका छन् ।, यो समाचार नागरिक दैनिकबाट सभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्