Logo
Logo

मन्त्रिपरिषदले झण्डै तीन महिनापछि पूर्णता पाउँदै


1.6k
Shares

काठमाडौं । सरकार बनेको लामो समयपछि शुक्रबार (आज) मन्त्रीपरिषद्ले पूर्णता पाउने भएको छ । कांग्रेस सभापति समेत रहेका शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएको करिब तीन महिनापछि आज मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारी गरेका हुन् ।

२९ असारमा सरकारको नेतृत्व सम्हालेकाक प्रधानमन्त्री देउवाले यसअघि किस्ता किस्तामा गरी पाँच मन्त्री र एक राज्यमन्त्री बनाएका थिए । उनले मन्त्रीपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै गठबन्धनदलका नेता र कांग्रेसकै शिर्ष नेताहरुले उनको आलोचना गरिरहेका छन् ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी भइरहेको जानकारी दिए । बिहीबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा भएको सहमति अनुसार आज मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको उनको भनाई छ ।

विहीबार मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै आज मन्त्रिपरिषदलाई पूर्णता दिइन लागिएको हो । सहमतिअनुसार नेपाली काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने भएको छ ।

माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले ४–४ मन्त्रालय पाएका छन् ।

कुल २५ सदस्यीय मन्त्रिपरिषदमा काँग्रेसबाट प्रधानमन्त्रीसहित मन्त्री र राज्यमन्त्री गरी ११ जनाको उपस्थिति रहने भएको छ । सरकारको नेतृत्व गरेको काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने सहमति जुटेको छ ।

यसअघि काँग्रेसले ७, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पाँच–पाँच मन्त्री र एक–एक राज्यमन्त्री पाउने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्