काठमाडौं । नेकपा एकीकृत समाजवादीले ११ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । स्थायी कमिटीको विहीबार राति बसेको बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा ११ सदस्यीय सचिवालय र महासचिव बेदुराम भुसालको नेतृत्वमा केन्द्रीय कार्यालय गठन गरेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
नेकपा एसको तर्फबाट तत्काल कुनै निर्णय लिने जिम्मेवारी अब सचिवालयले पाएको छ । सचिवालयले नै मन्त्री छनौट गरेको छ । सचिवालयमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र मुकुन्द न्यौपाने छन् । त्यस्तै उपाध्यक्षमध्ये राजेन्द्र पाण्डे, प्रमेश हमाल र जयन्ती राई सचिवालयमा समेटिएका छन् ।
यीबाहेक महासचिव बेदुराम भुसाल र उपमहासचिवहरू जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र गंगालाल तुलाधर केन्द्रीय सचिवालयमा रहेका छन् ।