काठमाडौं । नेकपा एमालेमा प्रवेश गरेर पनि असन्तुष्टि जनाउँदै आएका प्रभु साह अध्यक्ष केपी ओली शर्मालाई भेट्न बालकोट पुगेका छन् । ८ बुँदे शर्त राखेर आफ्नो माग राख्दै आएका नेता साह शुक्रबार ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन् ।
एमालेमा असन्तुष्ट देखिएका साहलाई पछिल्लो समय माओवादीमै फर्काउन अध्यक्ष प्रचण्डले पहल गरिरहेका छन् । यसैबेला साहले एमालेमै रहने कि विकल्प खोज्ने भन्ने ‘बार्गेनिङ’ गर्न बालकोट पुगेको बताइन्छ । नेता साहले बालकोटमा उपमहासचिव बिष्णु पौडेल तथा शंकर पोखरेल, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतका नेताहरुसँग छलफल गरेको स्रोतको भनाइ छ ।
साहसँग यसअघि अध्यक्ष ओली, महासचिव पोखरेल, नेता रामबहादुर थापा बादललगायतसँग छलफल गरिसकेका छन् । तर, साहले राखेका कतिपय माग पूरा नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । साहले नेतृत्वमाथि दबाब बढाउन आफू निकट प्रदेश २ का एकैसाथ २५ जना प्रदेश कमिटी सदस्यहरुलाई राजीनामा गराएका छन् ।