काठमाडौं । मधेसमा पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवप्रति टिप्पणी गर्नेहरुले भन्ने गरेको छन्– ‘उपेन्द्रलाई यादव बाहेक अरु सुन्न पनि मन छैन । त्यसैले सबै क्षेत्रमा यादव नै खोज्ने गरेका छन् ।’
जसपाबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने चार मन्त्रीमध्ये तीन जना त यादव नै परे । २५ सदस्यीय मन्त्रिपरिषदमा जसपाको कोटामा मधेसी समुदायबाट रेनुकुमारी यादव, महेन्द्रराय यादव, रामसहाय यादव मन्त्री भएका छन् । जसपाका चार मन्त्रीमध्ये एक राजेन्द्र श्रेष्ठ भने आदिवासी जनजाति समुदायका हुन् ।
जसपाले मन्त्रीको नाम टुंगो लगाउने क्रममा प्रमोद साहलाई मन्त्री बनाउने सहमति भएको थियो । तर, उनको नाममा अन्तिम समयमा ‘टिपेक्स’ चल्यो । उनको ठाउँमा महेन्द्रराय यादव मन्त्री भए । प्रमोदको नाम काटेर महेन्द्रलाई मन्त्री बनाइएपछि अध्यक्ष उपेन्द्र यादवलाई पुनः पुरानै आरोप लाग्न थालेको छ– ‘अन्तिममा यादव नै रोजे ।’ पछिल्लो निर्णयले मधेसमा उपेन्द्रको आलोचकलाई थप बल पुगेको छ ।
देउवा सरकारमा मधेसी समुदायका मन्त्री छन् । जसपाबाट ३ र नेकपा माओवादी केन्द्रबाट १ गरी चार जना मधेसी समुदायका मन्त्री भएका हुन् । संयोग नै मान्नुपर्छ, माओवादीको तर्फबाट पनि यादव नै मन्त्री भए । राज्यमन्त्रीका रुपमा बोधमाया यादवले शपथ लिएका छन् । संयोग नै मान्नु पर्छ, बोधमाया पनि यादव नै परे !