ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकास निर्माण र कला संरक्षणमा नीति निर्माता मात्र नभई उपभोक्ता पनि जिम्मेवार हुनुपर्ने बताएकी छन् ।
ललितपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले आफ्ना संस्कृति, पर्व एवं विकास निर्माण कार्यलाई उपभोक्तास्तरबाट पनि निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिएका हुन् । ‘आफू निरन्तर देश विकास र जनताको सेवामा लाग्ने छु’, मन्त्री भुसालले भने, ‘मैले मेरो तहबाट बजेट तथा योजनाका लागि पहल गर्छु । तपाईं उपभोक्ताले हरेक गतिविधिको नियमन गर्नुपर्छ ।’
आफूले पहल गरेर ल्याएको योजना कार्यान्वयनमा ढिलाइ भएकाले जनस्तरबाटै खबरदारी हुनुपर्ने आवश्यकता औँल्याउँदै उनले ‘बुङ्मतीको मुख्य बाटोमा रु २५ करोडसम्म बजेट विनियोजन भयो तर पूरा भएको छैन ।’
मन्त्री भुसालले विसं २०७२ मा भत्किएको रातो मच्छिन्द्रनाथको काम ढिलो भएको र उपभोक्ताकै कारण निर्माण कार्य अगाडि बढेको उल्लेख गरे । स्थानीय उपभोक्ता नै आफ्नो क्षेत्रको संस्कृति संरक्षण र विकास निर्माणमा जिम्मेवार भएर लाग्नुपर्नेमा उनको जोड थियो । जनताका आवश्यकता पूरा गर्न आफू निरन्तर लागिपर्ने प्रतिबद्धता गर्दै गरे ।
मन्त्री भुसालले विभिन्न कालखण्डमा सुरु भएका चाडपर्वका ऐतिहासिक एवं सामाजिक महत्व रहेको उल्लेख गर्दै चाडपर्वका सामाजिक एवम् सांस्कृतिक पाटाहरू अत्यन्त महत्वपूर्ण रहेको बताए । यस अर्थमा चाडपर्वलाई निरन्तरता दिने र समयानुसार परिमार्जन गर्नु नै आजको आवश्यकता रहेको उभना भनाइ रहेको छ ।
मन्त्री भुसालले देशको भूगोल र जनता मात्र नभई त्यस देशको सांस्कृतिक पहिचान र सामाजिक मूल्यमान्यता, कला, जनताका जीवन व्यवहार महत्वपूर्ण हुने उल्लेख गर्दै व्यक्ति, परिवार, समाज र राष्ट्रलाई एकताबद्ध गर्ने एवम् सम्बन्धलाई सुदृढ गर्ने महत्वपूर्ण चाडबाड सबैको आ–आफ्नै महत्व भएको बताए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि एवं सामाजिक व्यक्तिले आसन्न राष्ट्रिय चाडहरु विजयादशमी, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो ।
त्यसैगरी ऊर्जामन्त्री भुसालले आजै ललितपुर महानगरपालिका–१० स्थित बाराही टोल विकास संस्थाको तेस्रो वार्षिक साधारणसभाको समेत उद्घाटन गरेका छन् ।