काठमाडौं । सरकारले ‘पढ्दै : कमाउँदै’ भन्ने कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि आफूले सो कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए। शनिबार काठमाडौंमा आयोजित ‘कोरोना महामारीमा शैक्षिक रुपान्तरण विषयक’ छलफल कार्यक्रममा बोल्दै उनले त्यसले मुलुकको शैक्षिक क्षेत्र र आर्थिक क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे।
अर्थमन्त्री शर्माले सरकारले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि जोड दिइरहेको पनि दोहोर्याए। उनले नेपालको विकासको मोडल सामुदायमा आधारित हुनुपर्ने आवश्यक्ता औंल्याए।
अर्थमन्त्री शर्माले भने, ‘अहिले म अर्थमन्त्री भएको बेला पढ्दैः कमाउँदै भन्ने कार्यक्रम सञ्चालनमा ल्याउने गरी तयार भएको छ। त्यसलाई लेख्ने बेला बिग्रिएन भने राम्रो परिणाम देला भन्ने मलाई विश्वास छ।’
उनले समुदायलाई पनि शिक्षित बनाउनुपर्ने, जिम्मेवार बनाउनुपर्ने, राजनीतिक नेतृत्वलाई उत्तरदायी र शिक्षकहरूलाई प्रतिवद्ध बनाउन सकेमात्रै नेपालको शिक्षा जीवन उपयोगी हुने बताए।
अर्थमन्त्री शर्माले शिक्षा क्षेत्रमा लगानी बढाउन आफूले राजस्व संकलन वृद्धि गर्न जोड दिएको बताए। उनले शिक्षा क्षेत्रलाई समयानुकूल बनाउन प्रविधिको विकास गर्नुपर्नेमा सरकार सचेत रहेको बताए।