काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा कांग्रेस, माओवादी केन्द्रबाट मन्त्री बन्ने सांसदहरुको नाम टुंगो लागेको छ । आज दिउँसो मन्त्रिपरिषद विस्तार र मन्त्रीहरुलाई आजै सपथ गराउने कार्यक्रम तय भएको छ ।
कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना बन्ने भएका छन् । कांग्रेसले राज्यमन्त्रीमा कपिलवस्तुकी रिना नेपाल विकलाई पठाउने निर्णय गरेको छ । यी दुई जनाको नाम पार्टी केन्द्रबाट टुंगो लागेको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानको भनाई छ ।
दाङकी विमला खत्री वली माओवादी केन्द्रबाट राज्यमन्त्री बन्ने भएकी छन् । यसअघि नै माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने टुंगो लागेको थियो ।
माओवादीबाट प्युठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा सहकारी मन्त्री बनेका छन् । माओवादीले आन्तरिक मामिला तथा सञ्चार, कानुन, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ ।