Logo
Logo

मन्त्रीलाई माधवको निर्देशन- राष्ट्र र जनताको हितमा काम गर्नुस्


1.3k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न निर्देशन दिएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर अधयक्ष नेपालले मन्त्रीहरुलाई निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिबाट मुक्त भएर काम गर्ने निर्देशन दिएका हुन् ।

अध्यक्ष नेपालले भने, ‘काम गर्दाखेरि निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरुबाट तपाईंहरु मुक्त हुनुपर्छ । त्योबाट टाढा रहनुपर्छ । आफ्नो योग्यता र क्षमता, कार्यसम्पादनमा उत्कृष्टताको आधारमा नै कुनैपनि व्यक्तिको छनौट गर्ने र जिम्मेवारी दिने कुरामा तपाईंहरु लाग्नुहुनेछ ।’

अध्यक्ष नेपालले पदीय मर्यादा र गरिमा विपरीतका काम नगर्न पनि निर्देशन दिए । उनले भने, ‘बदनामी कमाउने र विवादमा पर्ने कुनै पनि कामहरु तपाईंहरुबाट हुने छैन भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौँ । स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्नुहुनेछ ।’

उनले रक्सी खाने बानी छ भने त्याग्न निदेर्शन पनि दिए । ‘यो मन्त्रीहरु रक्सी खाएर मात्तिए, बेलुका बेलुका फाइभस्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरु सँग बसेर यिनै कुरा गरिरहेका छन् भन्नेकुरा सुन्नु नपरोस्’ उनले भने, ‘सिधा कुरा, रक्सी खाने बानी छ भने बानी त्याग्नुस् । अरु आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरु सुन्नु नपरोस् ।’

पीए र सल्लाहकार नियुक्त गर्दा पार्टीको परामर्शमा नियुक्त गर्न पनि अध्यक्ष नेपालले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्