Logo
Logo

पत्रकारिताप्रति चिन्ता


4k
Shares

काठमाडौं । सूचना विभागका महानिर्देशक गोगन हमालले पत्रकारिता गर्नेहरुको संख्या वृद्धि भए पनि गुणस्तर खस्किएको अनुभव एक पाठकको नाताले आफूले पाएको बताएका छन् ।

तराई विकास तथा संचार केन्द्र नेपालले अयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमममा बोल्दै उनले आफू सूचना विभागमा आएपछि पत्रकारहरुको हकहितमा धेरै काम गरेपनि पत्रकारहरुसँग आवद्ध संगठनहरु पत्रकारहरुको हकहितको पक्षमा के–के काम गर्नुपर्छ भनेर आफूकहाँ नआएको गुनासो गरे ।

महानिर्देशक हमालले वरिष्ठ पत्रकारहरुलाई मासिक आर्थिक सहयोग गर्ने भनेर विभागमा दुई वर्षदेखि पाँच करोड रकम जम्मा भएपनि कार्यविधि नबन्दा उक्त रकम बैंक खातामै जम्मा गर्नु परेको दुखेसो पोखे ।

पत्रकारहरुको हकहितका लागि आफू गम्भीर भएको र आगामी दिनमा पत्रकारहरुसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा सहभागी सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले आफू एक पत्रकारबाट पीडित भएको पीडा पोखे । उनले, यातायात व्यवस्था विभागमा रहँदा आफूसँग छाँयाचन्द्र भण्डारी नामका एक जना पत्रकारले कार्यालयमै आएर पैसा मागेको र उक्त रकम नदिएकाले उनले एक महिनासम्म चरित्र हत्या गरेको बताए ।

उनले भने– ‘त्यस्ता पत्रकारलाई प्रेस काउन्सिलले समेत केही गर्न सकेन । त्यस्ता पत्रकारका कारण सिंगो पत्रकारिता जगत बदनाम भएको छ । ‘ब्ल्याक मेलिङ’ गर्ने पत्रकारलाई कडा कानूनी कारवाही नभएसम्म पत्रकारिताप्रति जनविश्वास बढ्दैन ।’

प्रमुख अथितिको रुपमा बोल्दै सामान्य प्रशासन मन्त्रालयका सचिव एक नारायण अर्यालले पत्रकारिता पेशालाई मर्यादीत र जिम्मेवार बनाए मात्र देश र समाजले सही बाटो लिने बताए । उनले पत्रकारिता पेशामा लाग्ने जो कोहीले पनि आफ्नो जिम्मेवारी ख्याल गर्न सके समाज सही बाटोमा हिड्ने बताए ।

सही सूचना र विचारले मात्र समाजलाई सकारात्मक सन्देश दिन्छ भन्दै देश र समाजका लागि सकारात्मक सूचना र विचारको खाँचो रहेको सचिव अर्यालको भनाइ थियो ।

कार्यक्रममा बोल्दै समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठले राजनीतिक दलका नेताहरुले पत्रपत्रिका पढ्न छोडेकाले राजनीतिमा विकृति र विसंगती झाँगिएको बताए । पत्रकारिता पेशा भनेको खबरदारी गर्ने हो, जुन नेपालका राजनीतिक दलका नेताहरुलाई मन पर्दैन, श्रेष्ठले भने ।

कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाईँ, राजधानी दैनिकका सम्पादक सागर पण्डित, सिद्धराज उपाध्यय, चेतनाथ धमला लगायतले पत्रकारिता पेशालाई मर्यादीत, विश्वसनिय र जिम्मेवार बनाउन पत्रकारहरु नै लाग्नुपर्ने बताएका थिए ।

प्रकाशित समाचारप्रति प्राप्त खण्डन प्रकाशित गरिएको छ । –सम्पादक

श्री सम्पादकज्यू
दृष्टिन्यूज डट कम
नक्साल, काठमाडौं, नेपाल

विषयः खण्डन पठाइएको सम्बन्धमा ।

महोदय,
उपरोक्त सम्बन्धमा दृष्टिन्यूज अनलाइनमा मिति २०७८ असोज २४ गते प्रकाशित पत्रकारिताप्रति चिन्ता समाचार शीर्षकमा मेरो नाम (छायाचन्द्र भण्डारी) जोडिएको सम्बन्धमा खण्डन व्यक्त गर्न चाहन्छु । सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता वसन्त अधिकारीले मेरो नाम उल्लेखनै नगरेको बताएको अवस्थामा कसरी नाम जोडियो ? सो समाचारमा मेरो नामसमेत उल्लेख भएकोमा गम्भीर ध्यानाकर्षण भएको हो । यस विषयमा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता अधिकारी भन्नुहुन्छ, पत्रकारिता जगतलाई मर्यादित गराउनुपर्छ भन्ने बिषयमा कुरा भएको हो तर तपाईंको नाम राम्रोसँग थाहा पनि थिएन, मैले कुनै पत्रकारको नाम लिएको पनि छैन । कसरी मेरो नाम जोडिएर आयो ? म आफै अचम्ममा परेको छु । औपचारिक एक कार्यक्रमका विषयमा प्रकाशित समाचारमा कपोकल्पित रुपमा मेरो नाम जोडिएकोले गम्भीर ध्यानार्कषण भएको हो । यसरी समाचारको बिच पंक्तिमा अनायसै मेरो चरित्र हत्या गर्ने नियतले नाम प्रकाशित भएको विषयमा घोर भत्र्सना गर्न चाहन्छु ।

सहयोगका लागि धन्यवाद ।

छायाचन्द्र भण्डारी
निवेदक

प्रतिक्रिया दिनुहोस्