Logo
Logo

विप्लवसँग भएकाे सहमति कार्यान्वयनका लागि गृहमन्त्रीद्वारा पहल सुरु


756
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल थालेका छन् । सहमति कार्यान्वयनका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्बबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग आइतबार गृहमन्त्री खाणले छलफल गरेका छन् ।

सहमति कार्यान्वयनलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ । आफूले नेकपाका नेताहरूसँग गरेका वार्ता र उनीहरूका मागबारे जानकारी गराएको गृहमन्त्री खाँणको भनाइ छ ।

विप्लव नेकपा र सरकारबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएको थियो । छलफलमा बुदाँ नम्बर तीनमा रहेको ‘नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरूको रिहाइ र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको छ’ भन्ने विषयमा केन्द्रीत रहेर छलफल भएको छ ।

कानुन सचिव सापकोटा र महान्यायाधीवक्ता खातीले कस्ता मुद्दा खारेज गर्न मिल्ने र जेलमा रहेका कैदीबन्दीलाई रिहाइ गर्न मिल्नेबारे जानकारी दिएका थिए । उनले गृह मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयबाट रिहाइका लागि सिफारिस मन्त्रालयमा आएका अधिकांशको रिहाइ भइसकेको जानकारी गराएका थिए ।

नेकपाका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारूढ दलका शीर्ष नेताहरूलाई भेटेर अघिल्लो सरकारले गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्