काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले पार्टीबाट संघीय सरकारमा सहभागी मन्त्रीलाई ‘निष्ठाका साथ जनभावना अनुरुप काम गर्नु’ भन्दै १० बुँदे निर्देशन दिएको छ ।
गत बिहीबार अन्तरपार्टी निर्देशिका (अपानि)–२ जारी गर्दै पार्टीका तर्फबाट अध्यक्ष माधवकुमार नेपालले १० बुँदे निर्देशन दिएका हुन् । मन्त्रीहरुलाई इमान्दारीता र कर्तव्य निष्ठाका साथ काम गर्न, राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न, निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारबाट मुक्त्त रहन निर्देशन दिइएको छ ।
त्यस्तै, योग्यता, क्षमता र कार्य सम्पादनमा उत्कृष्टताको आधारमा व्यक्तिको छनोट गरी जिम्मेवारी दिन, विवादमा पर्ने कुनै पनि काम नगर्न, स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्न निर्देशनमा भनिएको छ ।
त्यसैगरी, पार्टीको नेतृत्व र सम्बन्धित विभागसँग समन्वय गरी काम गर्न र पार्टीको निर्देशन र सल्लाहलाई पालना गर्न, सम्बन्धित क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तिहरुबाट नियमित रुपमा राय परामर्श लिन, नेता, कार्यकर्तासँग जीवन्त सम्पर्क राखी छिटो छरितो ढंगले काम गर्न र पाँच दलीय गठबन्धनको भावनाअनुरुप अन्य दलहरुसँग सहकार्य गर्न निर्देशन दिइएको छ ।
एकीकृत समाजवादीबाट स्थायी कमिटी सदस्य विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्यामन्त्री, सचिव रामकुमारी झाँक्री सहरी विकासमन्त्री, नेता कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री , पोलिटब्युरो सदस्य प्रेमबहादुर आले संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री र वैकल्पिक पोलिटब्युरो सदस्य भवानी खापुङ स्वास्थ्य राज्यमन्त्रीका रुपमा संघीय सरकारमा सहभागी छन् ।
यस्तो छ १० बुँले निर्देशन–
१. इमान्दारीता र कर्तव्य निष्ठाका साथ काम गर्न ।
२. राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न ।
३. निजी स्वार्थ, अनिमियतता र भ्रष्टाचारबाट मुक्त्त रहन ।
४. योग्यता, क्षमता र कार्य सम्पादनमा उत्कृष्टताको आधारमा व्यक्तिको छनौट गरी जिम्मेवारी दिन ।
५. विवादमा पर्ने कुनै पनि काम नगर्न ।
६. स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्न ।
७. पार्टीको नेतृत्व र सम्बन्धित विभागसँग समन्वय गरी काम गर्न र पार्टीको निर्देशन र सल्लाहलाई पालना गर्न ।
८. सम्बन्धित क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तिहरुबाट नियमित रुपमा राय परामर्श लिन । ९.नेता, कार्यकर्तासँग जीवन्त सम्पर्क राखी छिटो छरितो ढंगले काम गर्न ।
१०. पाँच दलीय गठबन्धनको भावना अनुरुप अन्य दलहरुसँग सहकार्य गर्न ।