रौतहट । सोमबार बिहान आएको वर्षासँगै हावाहुरीका कारण रौतहटका किसानले लगाएको धान बालीलाई कतै राहत पुगेको छ भने कतै क्षति भएको छ ।
पसाउदै गरेको धानबालीका लागि वर्षाले राम्रो गरेको भएपनि अहिले नै पाकिसकेको धानमा भने क्षति भएको किसानले बताएका छन् । वर्षाले जिल्लाको कतिपय स्थानमा काटेको धान भित्र्याउन सकिएको छैन । कतै डुबानमा समेत परेको बृन्दावन १ बैराठपुरका किसान विनोद यादवले बताए ।
एक्कासी आएको वर्षाका कारण काटेको र लडेको धान कुहिने किसानको चिन्ता बढेको छ । वर्षाले अहिले नै पाकेर काट्न थालिएका मोटाबिजी प्रजातिको धानबालीमा ठुलो क्षति भएको यादवले बताए ।
यस्तै मंसिरमा पाक्ने सोना मंसुलीलगायत मसिनो प्रजातिको धानको लागि सिँचाइ आवश्यक रहेको र अहिलेको वर्षाले धेरै राहत पु¥याएको चन्द्रपुर नगरपालिका वडा नं–१० हरैयाका स्थानीय किसान शुभ नारायण चौधरीको भनाइ छ । पानी परेर राहत भएपनि धानमा अन्य रोगले सताइरहेको उनले सुनाए ।
चौधरीले भने, किसानको समस्या समाधानका लागि नगरपालिकाले हरेक वडामा जेटिए परिचालन गरिदिएको भए हामीलाई खेती किसानी गर्न सजिलो हुन्थ्यो, तर नगरपालिकाले हाम्रो समस्या समाधानको लागि कुनै व्यवस्था गरेको छैन ।’
जिल्लामा कुल १ लाख १२ हजार ६ सय हेक्टर खेतीयोग्य जग्गा रहेको छ, जसमध्ये झण्डै ४९ हजार हेक्टर जग्गामा धानखेती गर्ने गरिन्छ । अन्य खेतीयोग्य जग्गाहरुमा सिँचाइ तथा विभिन्न समस्याका कारण धान उत्पादन हुने गरेका छैनन् । यस वर्ष समयमा मलखाद्य नपाएका कारण ४९ हजार हेक्टर जग्गामा लगाएका धान खेती उत्पादनमा कमी आउने किसानको चिन्ता छ ।