काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीमा युवा संगठित हुने लहर चलेको जनाएको छ । एकीकृत समाजवादी पार्टी गठन भएको एक महिना पुरा भई दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा पार्टीमा निर्माण कार्यमा अभूतपूर्व उत्साह देखिएको छ ।
एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले नेकपा (एमाले) मा उत्पन्न व्यक्तिवादी अहंकारवाद, निरंकुुश एवं स्वेच्छाचारी प्रवृत्ति, चरम गुटबन्दी, दक्षिणपन्थी अवसरवाद र विसर्जनवादका विरुद्ध विद्रोह गरी पार्टीको गठन भएको जनाएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै प्रवक्ता खतिवडाले भदौ ९ गते निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र प्राप्त भएयता पार्टीको बैठक, कमिटी गठन, विस्तार, जिम्मेवारी बाँडफाँट लगायतका कामहरु सम्पन्न भएको जनाएका छन् ।
पार्टी गठन भएपछि केन्द्रीय कमिटीलाई पूर्णता दिने काम सम्पन्न हुनुका साथै सम्पूर्ण प्रदेश तथा प्रदेश स्तरका कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, सचिवसहितका पदाधिकारी तोकिएका छन् ।
केन्द्रीय आयोग र निकायहरु गठन भइसकेका छन् । केन्द्रीय विभागका प्रमुख, उपप्रमुखहरु तोकिएका छन् । ती विभागहरुलाई पूर्णता दिनका निम्ति देशभरबाट विभागको कार्यक्षेत्र, प्रकृति र चरित्रअनुसारका नेताहरुको छनौट गर्ने कार्य अन्तिम चरणमा पुगेको उनले जनाएका छन् । सबै जनसंगठन, पेशागत तथा सामुदायिक संगठनहरुको विभिन्न तहका कमिटीहरु गठन, पुनर्गठन तथा रुपान्तरणका काम जारी रहेको छ । पार्टीको सम्पूर्ण जिल्ला कमिटी, जनसंगठनसहित विविध पेशागत तथा सामुदायिक संगठनका इञ्चार्ज तथा सह–इञ्चार्जहरु तोक्ने काम सम्पन्न भएको छ ।
देशका ७३ वटा भौगोलिक जिल्ला र ४ वटा गैरभौगोलिक जिल्ला कमिटीहरु गठन भएका भईसकेको खतिवडाले जनाएका छन् । भौगोलिक जिल्ला कमिटीमध्ये गठन गर्नका निम्ति तय भएका कार्यक्रमहरु पछिल्लो समयको वर्षा, बाढी, पहिरो र सडक दुर्घटनाको श्रृंखला बढेका कारण स्थगित भएको छ ।
अहिले संघीय तथा प्रदेश स्तरका निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तहका विभिन्न पालिका, वडा तथा टोल कमिटी गठनको प्रक्रियाले तीव्रता दिईएको उनले जनाएका छन् । यस्तै विभिन्न जिल्ला र केन्द्रबीच समन्वय स्थापित गर्ने सम्पर्क मञ्चहरुको गठनकार्य जारी छ ।
देशबाहिर विभिन्न प्रवास कमिटीहरु गठन भइरहेका छन् । यद्यपि, ती कमिटीलाई औपचारिकता दिनका लागि देशबाट पुग्नुपर्ने नेताहरुको विविध व्यस्तताका कारण सम्भव भइरहेको छैन । चाडपर्व र प्राकृतिक विपत्तिको व्यवस्थापनपछि ती कार्य सम्पन्न हुने उनले जनाएका छन् ।
‘पार्टी गठनको यो रफ्तार केन्द्रीय कमिटीको पहिलो बैठकमा प्रस्तुत कार्ययोजनाले अनुमान गरेभन्दा छिटो गतिमा अगाडि बढेको हो । पार्टी निर्माणका पक्षमा देशभरका हजारौँ युवा, विद्यार्थी कार्यकर्ताहरुको स्वतःस्फुर्त सहभागिताले यो स्थिति सम्भव भएको हो’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पार्टीको आधिकारिक प्रकाशनतर्फ केन्द्रीय मुखपत्रका रुपमा ‘समाजवाद’ र गतिविधिमूलक प्रकाशन बुलेटिनका रुपमा ‘कलम’ को प्रकाशन तयारी जनाउँदै उनले त्यसमध्ये ‘कलम’ को प्रकाशन एक साताभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढेको जनाएका छन् ।
पार्टीको आधिकारिक वेभसाइट, विभिन्न सामाजिक सञ्जालमा पार्टीको उपस्थितिका निम्ति प्राविधिक कार्य अन्तिम चरणमा पुगेको र यी सबै कामलाई केही दिनभित्र एक विशेष कार्यक्रमका बीच शुरुवात गर्ने योजना पार्टीले बनाएको छ ।
प्रदेश १ र बागमती प्रदेश सरकारको आगामी नेतृत्व एकीकृत समाजवादी पार्टीले गर्ने सहमति पाँच दलीय गठबन्धनले गरेको खतिवडाले जनाएका छन् । तर एमालेले दुबै प्रदेशका सरकार अल्पमतमा परिसके भए पनि निकृष्ट सत्तालिप्सा प्रदर्शन गर्दै विश्वासको मत लिने प्रक्रिया टार्न सभामुखसँग मिलेमतो गरेको आरोप एकीकृत समाजवादीको छ ।
‘एमालेले यस्तो अनैतिक तथा घृणित कार्यशैली नत्यागे पनि प्रचलित कानुन, संसदीय परम्परा र मान्यताअनुसार ऊ केही दिनमै ती प्रदेश सरकारबाट सत्ताच्युत हुने निश्चित छ’ खतिवडाले उल्लेख गरेका छन् ।