Logo
Logo

सडकमा झन्डै रू. ४ अर्बको क्षति


504
Shares

काठमाडौँ । यो वर्षको वर्षायामदेखि कात्तिकको बेमौसमी पानी पर्दासम्म मुलुकभरका सडक तथा पुलहरू भत्किँदा झन्डै रू. ४ अर्ब बराबरको क्षति पुगेको छ । जेठ मसान्तदेखि परेको पानी र कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण मुलुकभरका सडक तथा पुलहरूमा उक्त रकम बराबरको क्षति पुगेको हो ।

कात्तिकमा परेको अविरल वर्षाका कारण रू। १ अर्ब ५ करोड बराबरको क्षति भएको छ । क्षतिको विवरण थप आउँदै गरेको हुँदा यो रकम पनि बढ्ने सडक विभागको आकलन छ ।

विभागका प्रवक्ता शिवप्रसाद नेपालले क्षतिको विवरण प्राप्त भए पनि अझै केही स्थानहरूबाट थप क्षति भएको विवरण आइरहेको हुँदा यो रकम बढ्न सक्ने बताए । यसअघि जेठ मसान्तदेखि परेको झरीका कारण सडक पूर्वाधारहरूमा रु. २ अर्ब ४० करोडसम्मको क्षति भएको थियो । यस समयमा १०० भन्दा बढी सडकहरू र २६ ओटा पुलहरूमा क्षति पुगेकोे थियो ।

थप क्षतिको विवरण आउने क्रममा रहेकाले क्षति बढ्ने प्रारम्भिक आकलन गरिएको उनको भनाइ छ । ‘यो वर्ष क्षति रू। ४ अर्ब नजिक पुग्ने देखिएको छ,’ उनले भने, ‘पश्चिम नेपालका बझाङलगायतका क्षेत्रहरूमा टोली पुग्नै सकेको छैन, यसले गर्दा पनि पूर्ण विवरण आइपुग्दासम्म कुल क्षति बढ्ने देखिन्छ ।’ यस वर्ष ८० वर्षपछि कात्तिक महीनामा धेरै पानी परेको मौसम विभागले बताउँदै आएको छ ।, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्