काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भोलि देशैभरीका पालिकाहरुको अधिवेशन गर्दैछ । १०औं महाधिवेशनको गृहकार्यमा जुटेको एमालेले ६ कात्तिकमा वडा स्तरको अधिवेशन गरिसकेको छ ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सात सय ५३ वटै पालिकाको अधिवेशन भोलि (कात्तिक ९ गते) हुने बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशैभरीको पालिका स्तरको अधिवेशनको उद्घाटन भर्चुअल माध्यमबाट गर्ने कार्यक्रम रहेको तामाङले बताए ।
‘भोलि देशैभरीका सात सय ५३ वटै पालिका स्तरको अधिवेशन हुँदैछ । पार्टी केन्द्रीय कार्यालयबाट अध्यक्ष केपी शर्मा ओलीले १ बजे भर्चुअल माध्यमबाट उदघाटन गर्ने कार्यक्रम रहेको छ’ तामाङले भने ।
एमाले विधानअनुसार पाँच सदस्यीय पदाधिकारी निर्वाचित हुनेछ । अध्यक्ष १, उपाध्यक्ष १, सचिव १ र सहसचिव २ अधिवेशनबाट निर्वाचित हुनेछन् । पदाधिकारी सहित गाउँपालिका र नगरपालिकामा ७५ सदस्यीय, उपमहानगरमा ८५ सदस्यीय र महानगरमा १०१ सदस्यीय कमिटी गठन हुने छ ।
बाढी, पहिरो, डुवानले प्रभावित भएका बाहेक सबै अधिवेशन हुने एमालेले जनाएको छ । यस अघि कातिक ६ गते ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन उदघाटन अध्यक्ष ओलीले गरेका थिए । ६ हजार भन्दा बढी वडामा सर्वसम्मत नेतृत्व चयन भईसकेको एमाले नेता तामाङले बताए । केही ठाउँमा बिभिन्न कारणले अधिवेशन गर्न नसकिए पनि कार्तिक मसान्तभित्रमा सक्नुपर्ने निर्देशन पार्टीको रहेको उनले बताए ।
‘देशैभरीका वडा अधिवेशनको एकैचोटी केन्द्रीय कार्यालयबाट अध्यक्ष कमरेड केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उदघाटन गर्नुभएको थियो । ६ हजार भन्दा बढी वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको खबर आएको छ’ सचिव तामाङले भने, ‘केही वडाहरुमा बिभिन्न कारणले नेतृत्व चयन गर्न नसकिए पनि कार्तिक मसान्त भित्रमा सक्नुपर्ने निर्देशन छ ।’
एमालेले १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गरिसकेको छ । एमालेको महाधिवेशन १० देखी १३ मंसिरसम्म हुनेछ । विधान महाधिवेशनबाट विधान पारित भईसकेको छ ।