Logo
Logo

मान्छे कुट्न प्रयोग गरिएको वडाध्यक्षको मोटरसाइकल प्रहरी नियन्त्रणमा


9k
Shares

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष छवीलाल हौजालीले सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको गुनासो बढ्दै गएको छ ।

वडाध्यक्ष हौजाली पटकपटक विवादमा पर्दै आएका छन् । उनले सरकारी नम्बर प्लेटको मोटरसाइकल पनि दुरुपयोग गरेको पाइएको छ । उनले से१ब ७८२ नम्बरको सरकारी मोटरसाइकल दुरुपयोग गरेपछि उक्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय कृष्णबहादुर कामी अनुसार गत असोज २८ गते चुरे गाउँपालिका– ४, बालुवागडामा बिहे भोजमा स्थानीयबीच झगडा भएको थियो । त्यसबेला वडाध्यक्षका भतिज चक्रबहादुर हौजालीले उक्त मोटरसाइकल प्रयोग गरेका थिए । चक्रबहादुरले उक्त मोटरसाइकलमा तीन जना बोकेर स्थानीयलाई कुटपिट गरेको कामीले बताए । कुटपिटपछि स्थानीयले वडा अध्यक्ष हौजाली चढ्ने सरकारी मोटरसाइकल नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।

दशैंको बिदामा सरकारी नम्बर प्लेटको मोटरसाइकल झगडाको लागि प्रयोग गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेम शाहीले बताए । उनले भने, ‘वडाध्यक्षको मोटरसाइकल स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएको थियो । अहिले सो मोटरसाइकल इलाका प्रहरी कार्यालय चौमालामा राखिएको छ ।’

वडाध्यक्ष छवीलाल हौजालीले आफू चढ्दै आएको सरकारी नम्बर प्लेटको मोटरसायकल भतिजोलाई सामाजिक सुरक्षा भत्ताको कागजात बनाउनका लागि दिएको स्वीकारे । उनले भने, ‘मैले त सरकारी कामका लागि मोटरसाइकल दिएको थिए, तर उनी झगडामा परेका रहेछन् ।’
गत २८ गते भएको झगडामा वडाध्यक्षका भतिजालगायतको समूहको कुटपिटबाट बालुवागडाका स्थानीय चक्र खत्री, महेन्द्र गुरुङ र खगेन्द्र खत्तेडी, कृष्ण बिक घाइते भएका थिए । उनीहरुले चक्रबहादुरविरुद्ध जाहेरी दिएपनि प्रहरीले लिन मानेका छैनन् ।

गत असोज ८ गते पनि मोहन्याल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष छविलाल हौजाली मगरले सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको भन्दै स्थानीयहरुले उनी चढ्ने मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएर उजुरी दर्ता गरेका थिए ।

कार्यालयमा भन्दा बढी होटलहरुमा भेटिने गरेका वडा अध्यक्षले सरकारी सम्पत्तिको दुरुपयोग गरेको भन्दै स्थानीयहरुले वडाध्यक्ष हौजालीको नाममा जिल्ला प्रहरी कार्यालयमा उजूरी दर्ता थियो ।

मोहन्याल गाउँपालिका वडा नम्बर ५ का स्थानीय सुनिता बुढा मगरका अनुसार वडाध्यक्षले जनताको काममा भन्दापनि सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी किर्ते काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्