काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को एक सय ५० भन्दा बढी पालिकामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । भर्चुअल माध्यमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज पालिका अधिवेशनको उद्घाटन गरेका थिए ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले देशभर रहेका ७५३ मध्ये ६०० भन्दा बढी पालिकामा अधिवेशन भएको बताए । जसमध्ये एक सय ५० भन्दा बढीमा सर्वसम्मत नेतृत्व चयन भइसकेको उनले बताए ।
‘अहिलेसम्म डेढ सय भन्दा बढी पालिकामा सर्वसम्मत नेतृत्व चयन भईसकेको खबर हामीलाई प्राप्त भएको छ । ६०० सय भन्दा बढी पालिकाहरुमा अधिवेशन सुरु भएको छ । सबैतिर सर्वसम्मतमै नेतृत्व चयन गर्ने प्रयास जारी छ’ तामाङले भने ।
विभिन्न कारणले पालिका र वडा अधिवेशन हुन नसकेको ठाउमा कार्तिक समान्त सम्ममा सक्नुपर्ने निर्देशन पार्टीको रहेको उनले बताए । बाढी, पहिलो तथा डुबान लगायतका समस्याका कारण केही पालिकामा अधिवेशन हुन नसकेको उनले बताए ।
एमाले विधान अनुसार पाँच सदस्यीय पदाधिकारी निर्वाचित हुनेछ । अध्यक्ष १, उपाध्यक्ष १, सचिव १ र सहसचिव २ अधिवेशनबाट निर्वाचित हुनेछन् । पदाधिकारी सहित गाउँपालिका र नगरपालिकामा ७५ सदस्यीय, उपमहानगरमा ८५ सदस्यीय र महानगरमा १०१ सदस्यीय कमिटी गठन हुनेछ ।
एमालेले १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गरिसकेको छ । एमालेको महाधिवेशन १० देखी १३ मंसिरसम्म हुनेछ । विधान महाधिवेशनबाट विधान पारित भईसकेको छ ।