कञ्चनपुर । नेकपा (एकीकृत समाजवादी) नेता एवं नागरिक, उड्ययनमन्त्री प्रेम आलेले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई ‘पाकेटमार’को संज्ञा दिएका छन् ।
आज कञ्चनपुर जिल्ला कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री आले ओलीप्रति आक्रमक शैलीमा प्रस्तुत भएका हुन् । बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले ओलीप्रति कटाक्ष गर्दै ‘पाकेटमार’को संज्ञा दिए ।
‘माधव कमरेडले जीवनभर पसिना बगाएर बनाएको घरमा एउटा पाकेटमार ओली छिर्याे’ ओलीप्रति व्यंग्य गर्दै पर्यटनमन्त्री आलेले भने, ‘पाकेटमारले ट्याक्क कैँचीले काटेर घर मालिकको लालपुर्जा लिएर टाप कस्यो ।’
माधव कुमार नेपालले पार्टी संगठन निर्माणमा जीवन भर पसिना बगाएको र अहिले आएर ओलीले सबै भताभूंग पारेको उनले टिप्पणी गरे । मन्त्री आलेले ओलीको पत्तासाफ भएको जिकिर पनि गरे । हिजोका दिनमा ओलीका एसम्यानहरु जताततै रहेको बताउँदै उनले अहिले आएर ओली एक्कलै भएको उनको भनाइ थियो ।
‘संघीय सरकार गइसक्यो, प्रदेश सरकार गइसक्यो, पत्ता साप भइसक्यो । तर अझै पनि घमण्ड यथावत छ’ उनले भने ।
(मन्त्री ओलेले बोलेकै कुरा समाचारमा लेखिएको पनि शीर्षकप्रति असहमति जनाएपछि शीर्षक परिवर्तन गरिएको छ । –सम्पादक)