काठमाडौँ । नेकपा (एमाले)ले १०औं महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यको निर्वाचनमा इलेक्ट्रोनिक मेसिन प्रयोग गर्ने निर्णय गरेको छ ।
ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा आज बसेको केन्द्रीय कमिटीको बैठकले त्यसको प्रयोग गर्दै आजै परिक्षण गरेको सचिव प्रदिप ज्ञवालीले बताए । यसका लागि निर्वाचन आयोगले आवश्यक सहयोग गर्ने भएको छ ।
यसअघिका निर्वाचनमा मतदान पत्र कागजी हुन्थ्यो । तर पछिल्लो समय बढदै गएको प्रविधिको प्रयोग गर्दै एमालेले १०औं महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनको प्रयोग गरी मतदान प्रक्रिया सम्पन्न गर्ने भएको छ ।
‘महाधिवेशनमा हामीले सकभर सर्वसम्मत पदाधिकारी तथा केन्द्रीय सदस्यको चयन गर्नेछौँ । यदी त्यसो हुन नसकेको अवस्थामा लोकतान्त्रिक प्रक्रियाद्धारा हामीले निर्वाचनमा इलेक्ट्रोनिक मेसिनको प्रयोग गर्नेछौं’ ज्ञवालीले भने ।
यस्तै बैठकले कात्तिक २७ गते देशैभरी एकैदिन महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने निर्णय गरेको छ । हिजो बसेको स्थायी कमिटी बैठकले गरेको निर्णयमा संशोधन गर्दै केन्द्रीय कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या १९ सय ९९ हुने निर्णय गरेको छ । स्थायी कमिटीको बैठकले १५३६ जना प्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको थियो ।
एमाले सचिव ज्ञवालीले स्थायी कमिटीको बैठकले गरेको निर्णयमा संशोधन गर्दै केन्द्रीय कमिटीले गरेको निर्णय अनुसार महाधिवेशनमा प्रतिनिधि सभहभागि हुने बताए । केन्द्रीय कमिटीको अर्को बैठक चितवनमा महाधिवेशन उदघाटन हुने अघिल्लो दिन बस्ने निर्णय बैठकले गरेको ज्ञवालीले बताए ।
१० औं महाधिवेशनमा मंसिर १० देखी १३ गतेसम्म चितवनमा हुने निर्णय यस अघि नै भइसकेको छ ।