शम्भु श्रेष्ठ
‘मेरो सरकार’ सडक र सदनमा बहसको विषय बनेको छ । ‘मेरो सरकार’ शब्दले सिंगो नीति तथा कार्यक्रम ओझेलमा परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार सदनमा बोलिरहँदा सदनमै उपस्थित सांसदहरुको मन मस्तिष्क राष्ट्रपतिको भाषणमा होइन, राष्ट्रपतिले कतिबेला फेरि ‘मेरो सरकार’ भन्ने शब्द दोहो¥याउने हुन् भन्नेमै केन्द्रित देखिन्थ्यो । प्रतिपक्षका सांसदहरुलाई मात्र होइन, सत्ता पक्षका सांसदहरुलाई समेत यो वाक्य असजिलो महसुस भइरहेको थियो । तै पनि धैर्य गरेर ‘मेरो सरकार’ शब्द सुन्न सांसदहरु बाध्य थिए ।
अन्तर्राष्ट्रिय चलन खासगरी भारतको परम्परालाई पछ्याउन यहाँ पनि ‘मेरो सरकार’ शब्दको प्रयोग गरिएको हो भन्ने तर्क सरकार प्रमुखको आयो । भारतमा बाहेक अन्य कुन कुन देशमा यस्तो प्रचलन छ, त्यो त थाहा भएन । तर, माक्र्सवादलाई नेपालको परिप्रेक्ष्यमा जननेता मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’को रुपमा स्थापित गरेको सन्दर्भमा भने ‘मेरो सरकार’ शब्दको प्रयोग गणेशको मूर्तिमा गैँडाको टाउको जोडेजस्तो भयो । यसलाई कुनै पनि नेपाली जनताले मन पराएनन् । राष्ट्रपतिको भाषणलाई राजतन्त्रको झल्को भनेर चर्चा गरियो । राजतन्त्रमा श्री ५ को सरकार भन्ने गरिन्थ्यो । त्यसबेला जुनसुकै सरकार गठन भए पनि त्यो सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’को प्रयोग राजाले मात्रै गर्थे ।
तर्कलाई कुतर्कले कुल्चन सक्दैन । तर्कका पछाडि आधार र कारणहरु हुन्छन् । कुतर्कका पछाडि पूर्वाग्रह र आक्रोश हुन्छ । राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नु ठिक थियो कि थिएन भन्ने बहस चलिरहेको बेला तर्कले काम गर्छ, कुतर्कले गर्दैन । किनभने, नेकपाको दुईतिहाइको सरकार सिंगो नेपाली जनताको सरकार हो । राष्ट्रपति सार्वभौम जनताले चुनेर पठाएका जनप्रतिनिधिहरुले चुन्ने संस्था हो । त्यो संस्थामा पुग्ने जोकोही पनि नेपाली जनताको राष्ट्रपति हो । नेपाली जनताले चुनेर पठाएको जुनसुकै संस्थाको प्रमुख पनि नेपाल र नेपालीको साझा हुन्छ । यस अर्थमा नेकपाको दुईतिहाइको सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम नेपाल सरकारको हो । सरकार जुनसुकै पार्टीको होस्, त्यसले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम ‘नेपाल सरकार’कै हुनुपर्छ र हुन्छ । केही साता अगाडि बुटवल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कार्यक्रममा भनेका थिए– यो सरकारलाई कतिपयले ओलीको सरकार भन्छन् । वास्तवमा त्यो सही होइन, यो सरकार नेपाल सरकार हो । आफैँले बुटवलमा बोलेको कुरा बालुवाटारमा आएर बिर्सदा यो गल्ती भएको हो ।
काम गर्दै जाँदा गल्ती, कमजोरी हुन्छ । त्यसलाई सच्याउँदै अगाडि बढ्नु नै लोकतान्त्रिक विधि र पद्धति हो । गल्तीलाई छोप्दै जाने हो भने त्यो लोकतन्त्रका लागि वनमारा झार सावित हुनसक्छ । त्यसमाथि हामी कस्तो अवस्थामा छौँ भने, हाम्रो लागि गणतन्त्र नौलो अनुभव हो । यसलाई कसरी संस्थागत गर्दै जाने भन्ने संस्कृति हामी आफैँले निर्माण गर्दै जानुपर्छ । भारतको राष्ट्रपतिले यसो ग¥यो, अमेरिकाको राष्ट्रपतिले उसो गर्छन् भनेर कुतर्कको खेती गर्दै जाने हो भने रेल र पानीजहाजको समृद्धिको सपनाले मात्रै हाम्रो चेतनास्तर उठ्दैन । हाम्रो चेतनाले जे कुरा बुझ्छ, जे कुरा सुन्छ त्यसअनुरुप हाम्रो व्यवहार भयो भने मात्र त्यसलाई जनताले सहजै पचाउँछन् । हाम्रो मानसिकता कस्तो छ भने, राष्ट्रपतिले सदनमा नीति तथा कार्यक्रम वाचन गरिरहँदा घरघरमा टेलिभिजनको प्रत्यक्ष प्रसारण हेरिरहेका सर्वसाधारण जनताले पनि राष्ट्रपति पनि एमालेको, प्रधानमन्त्री पनि एमालेको भएकोले राष्ट्रपतिले आफ्नो पार्टीको सरकारलाई ‘मेरो सरकार’ भनेको होलान् भनेर बुझ्यो । एक हिसाबले जनताले बुझेको कुरा त ठिकै हो । आखिर जनताले त एमालेलाई नै भोट हालेको हो । त्यसैले उनीहरुले ‘मेरो सरकार’ भन्ने शब्दलाई एमाले भएरै बुझे । यसमा जनताको केही दोष छैन । दोष त तिनीहरुको हो, जो चुनाव जितेर सरकारमा पुग्दासमेत सिंगो देश र जनताको हुन नसक्नु हो । यसले सत्ताको मानसिकता कति कमजोर रहेछ भन्ने कुरा उजागर गर्छ ।
यो लोकतान्त्रिक गणतन्त्र व्यवस्था तिनै टेलिभिजन हेरेर्, अखबार पढेर सडकमा ओर्लने जनताको त्याग, बलिदान र संघर्षबाट स्थापित पद्धति भएकोले जनतालाई नपच्ने खालका व्यवहार राष्ट्राध्यक्ष, सरकार प्रमुख कसैले पनि गर्नु हुन्न । हुन त सत्ताको मात बेग्लै हुँदोरहेछ । सत्तामा बस्दा आलोचना सुन्नै नसक्ने, प्रतिपक्षमा बस्दा आलोचना मात्रै गरिरहने, यो प्रवृत्तिमा पनि सुधार ल्याउनु जरुरी छ । अन्त्यमा, मेरो सरकार शब्दमा तर्क वितर्क गर्नुभन्दा आफूले गरेको गल्ती सच्याउनु लोकतन्त्रका लागि उत्तम विकल्प हो । त्यसमा ‘तेरो, मेरो’ शब्द जोड्नु आवश्यक छैन । यो सरकार नेपाल सरकारकै हो । मेरो सरकार होइन । सबैलाई चेतना भया ।