जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा देखिएको विवादबारे गठबन्धनले सामूहिक धारणा बनाउने बताएका छन् । शनिबार जनकपुरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘न्यायालयको विवाद समाधान गर्न काठमाडौं केन्द्रित भएर हामी बैठक बसेर सामूहिक धारणा बनाउँछौँ ।’
गठबन्धनमा अहिले कुनै विवाद नभएको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘सबै ठीक ढंगले अघि बढिरहेको छ ।’ उनले पार्टीले आ–आफ्नो प्रभाव विस्तार गर्न खोज्नु स्वभाविक भएको बताए ।
उनले प्रतिपक्षी नेकपा एमालेले दिनहुँ गतिरोध उत्पन्न गरेपछि केही दिनका लागि संसद बन्द गरिएको बताए । उनले भने, ‘संविधानको मर्मविपरीत अनावश्यक विषयमा प्रतिपक्षीले संसदमा गतिरोध उत्पन्न गराएपछि केही दिनका लागि संसद बन्द गरिएको हो ।’
साथै, अध्यक्ष प्रचण्डले गठबन्धनमा सैद्धान्तिक सहमतिअनुसार अब पात्रको खोजी भइरहेको पनि बताए । शनिबार नै जनकपुरधाममा प्रेस सेन्टर नेपाल धनुषाको आयोजनामा भएको पत्रकार सम्मेलनमा उनले भने, ‘निर्वाचनसम्म गठबन्धन रहन्छ । र, निर्वाचनका लागि पात्रको खोजीको गृहकार्य भइरहेको छ ।’
अध्यक्ष प्रचण्डले अब अध्यादेशबाट भएपनि नागरिकता विधेयकलगायत महत्वपूर्ण विधेयकहरू अगाडि बढ्ने बताउँदै भने, ‘नागरिकता विधेयकको लागि हामी राष्ट्रिय सहमतिबाटै जान चाहन्छौँ । राष्ट्रिय सहमति नभए अध्यादेशबाटै भएपनि जान्छौँ ।’