काठमाडौं । नेकपा (एमाले)को १०औं महाधिवेशनमा कुनै पनि दस्तावेजमाथि छलफल हुनेछैन । उद्घाटनपछि सिधै उम्मेदवारी दर्ता र मतदान हुने भएको छ ।
हालै सम्पन्न एमालेको प्रथम विधान महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान प्रस्तावमा छलफल भएको थियो । एमाले नेता काशीनाथ अधिकारीले १०औं महाधिवेशनमा कुनै दस्तावेज प्रस्तुत नहुने बताए ।
‘यो महाधिवेशनमा कुनै दस्तावेज पेश हुने छैनन् । हामीले विधान महाधिवेशनमा सबै दस्ताबेज पेश गर्दै छलफल र पारित गरिसकेका छौं । महाधिवेशनमा उद्घाटन पश्चात बन्द सत्र सुरु हुने र निर्वाचनका प्रक्रियाहरु अगाडी बढनेछ’ अधिकारीले भने ।
महाधिवेशनमा नेतृत्व चयन गर्ने सवालमा सर्वसम्मत प्रयास हुने र त्यसो हुन नसकेको अवस्थामा इलेक्ट्रोनिक मेसिनबाट मतदान हुने व्यवस्था भएको उनले बताए । प्रथम विधान महाधिवेशनमा सबै दस्तावेजमाथि छलफल भएको र सो विधान महाधिवेशनले नीतिगत बिषयमा निर्णय गरिसकेको उनले बताए । अब नेतृत्व चयनमै महाधिवेशन केन्द्रीत हुने अधिकारीले बताए ।
महाधिवेशनमा १९ सय ९९ प्रतिनिधि सहभागि हुनेछन् । शुक्रबार बसेको एमाले केन्द्रीय कमिटीको बैठक महाधिवेशन प्रतिनिधि संख्या बढाउने निर्णय गरेको छ । एमाले सचिव प्रदिप ज्ञवालीले महाधिवेशनमा १९ सय ९९ प्रतिनिधि सहभागि हुने बताए ।
यस अघि बसेको स्थायी कमिटी बैठकले १५ सय ३६ प्रतिनिधि सहभागि हुने निर्णय गरेको थियो । बिभिन्न मापदण्डका आधारमा यी प्रतिनिधि चुनिने व्यवस्था गरिएको छ ।
कात्तिक २७ गते देशैभरी एकैचोटी महाधिवेशन प्रतिनिधिको चयन गर्ने निर्णय एमालेले गरेको छ । २७ कार्तिकमा देशैभरी एकै दिन महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने निर्णय बैठकले गरेको सचिव ज्ञवालीले बताए ।
बैठकले महाधिवेशन मुल व्यवस्थापन समितिमा दुई जना थपेर २३ सदस्यीय बनाएको छ । नयाँ थप भएका सदस्यहरूमा नेता रघुजी पन्त र शेरबहादुर तामाङ थपिएका छन् । यस अघि नै नेता रामबहादुर थापा बादलको संयोजकत्वमा मुल व्यवस्थापन समिति गठन भएको छ ।
१० औं महाधिवेशनमा १० देखी १२ मंसिरमा चितवनमा हुने निर्णय यस अघि नै भईसकेको छ । महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यको निर्वाचनमा इलेक्ट्रोनिक मेसिनको प्रयोग हुनेछ ।
१२ समिति गठन
यसैबीच मुल व्यवस्थापन समितिको बसेको बैठकले विभिन्न १२ वटा समितिहरु बनाउने निर्णय गरेको छ । महाधिवेशन मूल व्यवस्थापन समितिको ललितपुर, च्यासलमा बसेको बैठकले १२ समिति गठन गर्ने निर्णय गरेको हो ।
संयोजक रामबहादुर थापा बादलको संयोजकत्वमा बसेको बैठकले प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, अतिथि सत्कार समिति, खाद्य व्यवस्थापन समिति, स्वयमसेवक परिचालन गठन गरेको छ । यस्तै, मञ्च व्यवस्थापन समिति, सांस्कृतिक समिति, जनपरिचालन समिति पनि बनाइएको मूल समितिका सदस्य रघुजी पन्तले बताए ।
बैठकमा समितिका सहसंयोजक सुरन्द्र पाण्डेले महाधिवेशन स्थल र तयारीबारे जानकारी गराएका थिए ।
विभिन्न समितिका संयोजकहरु :
मुल व्यवस्थापन समितिः रामबहादुर थापा बादल
प्रतिनिधि व्यवस्थापनः विष्णु पौडेल
जनपरिचालनः सुरेन्द्र पाण्डे
प्रचारप्रसारः योगेश भट्टराई
स्वास्थ्यः भानुभक्त ढकाल
आर्थिकः विष्णु रिमाल
मञ्च व्यवस्थापनः शेरबहादुर तामाङ
अतिथि सत्कारः राजन भट्टराई
आवास व्यवस्थापनः कृष्णभक्त पोखरेल
स्वयमसेवक परिचालनः विनोद श्रेष्ठ
यातायात व्यवस्थापनः काशीनाथ अधिकारी
खाद्य व्यवस्थापनः कपिल पोखरेल ÷पार्वती रावल