काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले विप्लव नेतृत्वको नेकपा र केपी ओली नेतृत्वको सरकारबीच भएको सहमति कार्यान्वयनका लागि पहल भइरहेको बताएका छन् ।
शनिबार गृहमन्त्रालयमा सञ्चारकर्मीसंगको छलफलका क्रममा गृहमन्त्री खाँणले सहमति कार्यान्वयनका लागि नेकपासंग पटक–पटक छलफल भएको जानकारी पनि दिए ।
नेकपाको मागका बिषयमा कानुनी बाटोबाट नै समाधान खोज्ने प्रयास भइरहेको उनको भनाई छ । उनले कानुनी प्रक्रियाबाट नै बन्दीहरू पनि मुक्त गर्नका लागि गृहकार्य भइरहेको बताए ।
त्यस्तै उनले प्रहरीको सरुवा तथा बढुवामा गृहमन्त्री र प्रधानमन्त्रीबिच असमझदारी देखिएको भन्ने विषयमाथि खण्डन गर्दै प्रधानमन्त्रीसंग कुनै पनि असमझदारी नभएको धारणा राखे ।