काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले आफ्ना पक्षका नेतालाई मात्र नेतृत्वमा ल्याउन खोजेपछि एमालेको सयभन्दा धेरै पालिकाको अधिवेशन प्रभावित भएको छ ।
गत कात्तिक ९ गते ७ सय ५३ वटै पालिकाको अधिवेशन अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उदघाटन गरेका थिए । सोही दिन ६ सय ५० भन्दा बढी पालिकामा अधिवेशन सम्पन्न भएको छ । तर, तेस्रो धार समूहका नेतालाई नेतृत्वकामा रोक्ने ओली समूहको योजनाका कारण सय भन्दा धेरै पालिकाको अधिवेशन प्रभावित भएको हो ।
बाढी, पहिरो, डुवानले प्रभावित भएका बाहेक सबै पालिकाको अधिवेशन सम्पन्न भएको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले बताए पनि सयभन्दा बढी पालिकाको अधिवेशन हुन नसक्नु अन्य समूहका नेतालाई नेतृत्वबाट रोक्न खोज्नु मुख्य कारण हो । तेस्रोधारका नेता निकटकालाई नेतृत्वमा आउँन नदिनका लागि ओली समूहका नेताहरुले सर्वसम्मतको नाममा अधिवेशन रोकेको आरोप लागेको छ ।
यस अघि कात्तिक ६ गते ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशनको उदघाटनसमेत अध्यक्ष ओलीले एकैपटक गरेका थिए । तर अहिलेसम्म पनि वडा अधिवेशन सम्पन्न भएको छैन । वडा अधिवेशनहरुसमेत ओली समूहकै कारण प्रभावित भएको आरोप लाग्ने गरेको छ ।
एमाले विधानअनुसार पाँच सदस्यीय पदाधिकारी निर्वाचित हुनुपर्छ । अध्यक्ष १, उपाध्यक्ष १, सचिव १ र सहसचिव २ अधिवेशनबाट निर्वाचित हुनेछन् । पदाधिकारीसहित गाउँपालिका र नगरपालिकामा ७५ सदस्यीय, उपमहानगरमा ८५ सदस्यीय र महानगरमा १०१ सदस्यीय कमिटि गठन हुनेछ ।
एमालेले १०औं महाधिवेशन चितवनमा गर्ने निर्णय गरिसकेको छ । एमालेको महाधिवेशन १० देखी १२ मंसिरसम्म हुनेछ । विधान महाधिवेशनबाट विधान पारित भइसकेको छ । एमालेले देशभर एकै दिन कार्तिक २७ गते महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन गर्दैछ । महाधिवेशनमा १९ सय ९९ जना प्रतिनिधिहरु सहभागि हुनेछन् ।
कात्तिक २५ भित्रमा अधिवेशन गर्न निर्देशन
यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्तिक २५ गतेभित्रमा बाँकी रहेका पालिका र वडा अधिवेशन सक्न निर्देशन दिएका छन् ।
अध्यक्ष ओलीले आइतबार अन्तर पार्टी निर्देशन जारी गर्दै बाँकी रहेका वडा र पालिका अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका हुन् । यसअघि एमालेले गत कात्तिक ६ गते देशभरका वडा र ९ गते पालिका अधिवेशन गरेको थियो ।