म्याग्दी । म्याग्दीको हिँड्न भ्यालीबाट मुस्ताङ जाने पदमार्ग पहिल्याउन नसकेर अलपत्र परेका तीन स्पेनी नागरिकसहित नौ जनालाई मुस्ताङ प्रहरीले हेलिकप्टरमार्फत उद्धार गरी आज जोमसोम विमानस्थतल लगेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार हिमपातका कारण बाटो पहिल्याउन नसकी अलपत्र परेका तीन विदेशीसहित छ जना नेपालीको उद्धार गरिएको हो ।
मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रामकुमार दानीले हिडन भ्यालीमा तीन स्पेनी र छ नेपाली गाइड अलपत्र परेपछि उद्धार गरी जोमसोम विमानस्थल ल्याइएको जानकारी दिए ।
नौ जनालाई फिस्टेल एयरको हेलिकप्टरले तीनपटक ओसारेर मुस्ताङको जोमसोम लगेको थियो । उद्धार गरिएकामध्ये तीनै जना स्पेनी नागरिक र एक नेपाली भने आजै काठमाडौँ गएको जनाइएको छ ।
हिमाली क्षेत्रमा चिसो बढ्नुका साथै हिमपात सुरु भएको छ । म्याग्दी र मुस्ताङका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ ।