Logo
Logo

माओवादीको अपहरणमा परेका राजेन्द्र राई माओवादीकै समर्थनमा मुख्यमन्त्री


21.8k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सचिव राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट राई मुख्यमन्त्री बनेका हुन् ।

२०२७ असार १५ गते भोजपुरको (किमालुङ गाविस) हाल षडानन्द नगरपालिका १० सुर्केमा जन्मेका राईले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । बुबा नरेन्द्रबहादुर राई र आमा धनकुमारी राईका ४ सन्तानमध्ये कान्छा सदस्य उनले गाउँकै स्कुलबाट अनेरास्ववियुमार्फत राजनीतिक यात्रा सुरु गरेका थिए ।

स्कुलको अखिल इकाई सचिवबाट सुरु भएको उनको राजनीतिक यात्रा त्यही संगठनको राष्ट्रिय अध्यक्ष दुई कार्यकाल भएका थिए । २०४३ मा एसएलसी उत्तिर्ण गरेपछि लगातार रत्न राज्यलक्ष्मी क्याम्पस काठमाडौंमा पढेर त्यहीँबाट राजनीतिशास्त्रमा स्नात्तकोत्तर गरेका उनले हालसम्म ३७ वर्ष पूर्णकालीन राजनीतिमा बिताइसकेका छन् ।

एमाले अखिलको केन्द्रीय सदस्य, सचिव, महासचिव हुँदै उनी २०५७ मा अखिल अध्यक्ष बनेका थिए । पहिलो कार्यकाल २०५९ मा सिध्याएका उनी ०५९ देखि ०६१ सम्म पुनः अखिल अध्यक्षमा दोस्रो कार्यकालका लागि दोहोरिएका थिए ।

२०४९ मा रत्न राज्यलक्ष्मी क्याम्पसको स्ववियु सभापति बनेका उनी अध्यक्ष हुँदा एमाले अखिल स्ववियु निर्वाचनमा सबैभन्दा ठूलो विद्यार्थी संगठन बनेको थियो । उनकै नेतृत्वको अखिलको केन्द्रीय कमिटी र राष्ट्रिय सम्मेलनबाट गणतन्त्रमा जानुपर्ने माग गरेको थियो ।

राजा ज्ञानेन्द्रको शासनकालमा विद्यार्थी आन्दोलनको अगुवाई गरेर सडक तताएका राई एमालेमा केपी शर्मा ओलीको उदयसँगै किनारामा पारिएका थिए ।

एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य दिलु पन्त ति दिन सम्झिदै भन्छिन्, ‘नेकपा एमालेमा जब केपी शर्मा ओली नेतृत्वमा उदाए, नेता राजेन्द्र राईका लागि सम्भावनाका धेरै ढोका बन्द जस्तै भए । उनीभन्दा धेरै जुनियरहरुले अनेकौं जिम्मेवारी तथा अवसरहरु पाए । तर, ओलीले राईलाई लगभग भूमिकाविहीन तुल्याए । एमाले अखिलको दुई पटकसम्म सफल नेतृत्व गरेका राईलाई फरक मत राखेकै आधारमा ओली र उनको टिमले सधैं पाखा लगाउने प्रयास गर्यो ।’

गत भदौ ९ मा एमाले विभाजित बनेपछि राजेन्द्र ओलीको छायाँबाट मुक्त मात्रै बनेनन्, त्यसको दुई महिनापछि प्रदेश १ को मुख्यमन्त्री पनि बन्न सफल भएका छन् । एमाले सचिव समेत रहेका भीम आचार्यलाई विस्थापित गरेर मुख्यमन्त्री बन्न उनी सफल भएका छन् ।

लामो समय अखिल राजनीतिमा सक्रिय उनी पहिलोपटक २०६८ मा केन्द्रीय सदस्य मनोनित भएर पार्टीमा सक्रिय बनेका थिए । २०७१ मा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट उनी पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

माधवकुमार नेपालको प्रधानमन्त्रीत्वकालमा राजनीतिक सल्लाहकारको भूमिका निर्वाह गरेका उनी २०७४ को प्रदेशसभामा निर्वाचनमा भोजपुर १ (ख) बाट निर्वाचित भएका हुन् ।

पञ्चायतकालमा ७ महिना केन्द्रीय कारागारमा बन्दी जीवन बिताएका उनले शाहीकालमा पनि ४ महिना प्रहरी तालिम केन्द्रमा बन्दी दिन व्यतित गरेका थिए । राईका ‘विचारको खेती’ र ‘आयु’ नामक विद्यार्थी आन्दोलनसम्बन्धी दुई पुस्तक प्रकाशित छन् ।

माओवादीसँगको त्यो संयोग
२०६० सालमा नेकपा (माओवादी केन्द्र)ले भोजपुरस्थित घरबाटै राईलाई अपहरण गरेर एक हप्ता कब्जामा राखेको थियो । संयोग मान्नु पर्छ आज उहील १८ वर्षपछि माओवादी केन्द्रको समर्थनमा १८ मुख्यमन्त्री बन्ने अवसर पाएका छन् । माओवादीसहित काँग्रेस, जसपा लगायत पाँच दलीय गठबन्धनबाट राई मुख्यमन्त्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस्