Logo
Logo

सानैमा पनि देखिन सक्छ मधुमेह


441
Shares

काठमाडौं । आइतबार विश्व मधुमेह दिवस मनाइँदै छ । मधुमेहसम्बन्धी जनचेतनामूूलक कार्यक्रम आयोजना गर्दै यो दिवस मनाउन लागिएको हो । यसपटकको नारा ‘मधुमेह उपचारमा पहुँच’ भन्ने रहेको छ ।

नेपालमा चिनी (मधुमेह) रोग बालबालिकालाई समेत देखापर्न थालेको छ । रामेछापका सिजन सापकोटा अहिले आठ वर्ष हुनुभयो । उहाँलाई मधुमेह देखिएपछि नियमित औषधि सेवन गरिरहनुभएको छ । खाना खाँदा उहाँले अड्कलेरमात्र खानुहुन्छ । खाना खान मन त लागेको तर समस्याले गर्दा थोरै खाएर उठ्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ ।

नेपालमा कुल जनसङ्ख्याको १० प्रतिशत मानिसमा मधुमेह रहेको अनुमान गरिएको छ । वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईले पछिल्लो समय मधुमेहका रोगीहरू बढेको बताउनुभयो । उहाँले सुगरको मात्रा धेरै भएर मानिसलाई कुनै असर गर्न नसक्ने भन्दै समय–समयमा सुगरको मात्रा परीक्षण गर्न आग्रह गर्नुभयो । मधुमेह रोग वंशाणुगत रूपमा समेत लाग्ने भन्दै डा. भट्टराईले मधुमेह भएका बाबुआमाका छोराछोरीलाई पनि मधुमेह हुन सक्ने बताउनुभयो ।

उहाँले बढी तौल भएका मानिसमा मधुमेह देखिने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार तनाब बढी लिने व्यक्तिलाई पनि मधुमेह हुन सक्छ । डा. भट्टराईले अधिकांश मधुमेह रोगीलाई आफूलाई रोग लागेको पत्तो नहुने बताउनुभयो । उहाँले मधुमेह रोगबाट बच्न नियमित व्यायाम गर्नुपर्ने, सन्तुलित भोजन, चिकित्सकको परामर्शअनुसार रोगलाई नियन्त्रणमा राख्नुपर्ने बताउनुभयो ।

डा. भट्टराईले यसमा हेलचेक्र्याइँ गरेर बस्दा मिर्गौला फेल हुने, मुटुको रोग, पक्षघात, अन्धोपनजस्ता समस्या देखिन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने बताउनुभयो । ५० प्रतिशत बिरामीलाई मधुमेह भएको थाहा नहुने भन्दै डा. भट्टराईले मधुमेहको जोखिम बढेसँगै यसको दीर्घकालीन असर प्रत्येक परिवारमा देखिने बताउनुभयो ।, यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्