काठमाडौं । नेकपा (एमाले)को १०औँ महाधिवेशन चार दिनमात्र बाँकी छ । यतिबेला पार्टीको प्रभावशाली पद हत्याउन नेताहरुको चलखेल बढेको छ । एमालेको महाधिवेशन यही १० देखि १२ मंसिरसम्म चितवनमा हुँदैछ ।
महाधिवेशन नजिकिएसँगै पार्टीको प्रभावशाली पद वरिष्ठ उपाध्यक्ष र महासचिव पदका लागि नेताहरु सेटिङका जुटेका छन् । १०औँ महाधिवेशनमा महासचिवका पाँच जना दावेदार देखिएका छन् ।
वर्तमान उपाध्यक्ष भीम रावलले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेपनि केपी ओली नै अध्यक्ष बन्नेमा दुईमत छैन । तर, रावलको उम्मेदवारीले ओलीलाई सर्वसम्मत हुनबाट धक्का लागेको छ ।
त्यसैले अध्यक्षपछिको प्रभावशाली पद महासचिव को बन्छ भन्ने कार्यकर्तामा कौतुहलता बढेको छ । १०औँ महाधिवेशनमा महासचिव बन्ने दौडमा घनश्याम भुसाल, शंकर पोखरेल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र पृथ्वी सुब्बा गुरुङ रहेका छन् । कार्यकर्तामाझमा समेत उनीहरुको नाम चर्चामा आएको छ ।
अध्यक्ष ओली समुहबाटै पौडेल र शंकर पोखरेल महासचिवको बलियो दावेदार हुन् । नवौँ महाधिवेशनमा उपमहासचिव हारेका पोखरेल अध्यक्ष ओलीका विश्वासपात्र मानिन्छन् । एमाले विधान महाधिवशेनबाट ७० वर्षीय उमेर हद लागू गरेपछि उपाध्यक्षदेखि महासचिवसम्मका नेतालाई झस्काएको हो ।
एमालेमा महासचिवका मुख्य दावेदार मानिएका पौडेल तत्कालीन नेकपाको महासचिवको जिम्मेवारी पूरा गरिसकेका छन् । साथै, उपमहासचिव पौडेल संगठन विभाग प्रमुख तथा दुईपटक अर्थमन्त्री र उपप्रधानमन्त्री भइसकेका नेता हुन् । ओली निकट मानिने नेता जसरी पनि एमाले महासचिव हुनुपर्ने रणनीतिमा लागेका छन् ।
अर्को रोचक बिषयमा ओली निकटका पौडेल र पोखरेल दुवै लुम्बिनी प्रदेशका नेता हुन् । लुम्बिनी प्रदेशका पुर्वमुख्यमन्त्री पोखरेललाई ओलीको मात्रै नभई राष्ट्रपति विद्यादेवी भण्डारीको समेत समर्थन रहेको छ । जबजको व्याख्यता पोखरेललाई भण्डारीले भित्रभित्रै सहयोग गरिरहेको स्रोतको दावी छ ।
आठौँ महाधिवेशनसम्म पौडेल माधव नेपाल पक्षमा थिए । तर, नवौँ महाधिवेशनमा आइपुग्दा उनी ओली टिमबाट उपमहासचिव बनेका थिए । नेकपाको आन्तरिक विवादका समयमा ओली र प्रचण्डसँग बराबरीजस्तै छलफल उनी जुटेका थिए ।
नेपालकै ठूलो, दुईतिहाई जनमतसहित सत्ता सञ्चालनमा रहेको नेकपाको महासचिव बनेर पास भएका पौडेल एमाले महासचिवको प्रबल दाबेदार हुन् । तर, सांगठनिक रुपमा बलियो भएपनि सैद्धान्तिक रुपमा जबजको व्याख्या गर्न पूर्ण नभएको भन्ने उनको आलोचना गर्नेहरुको तर्क छ ।
पोखरेल पार्टीको नवौँ महाधिवेशनमा उपमहासचिवमा पराजित भएपनि उनी पार्टी राजनीतिको केन्द्रमै रहँदै आए । ९औँ महाधिवेशनमा दुई उपमहासचिवका लागि भएको निर्वाचनमा भुसाल र पौडेल विजयी हुँदा पोखरेल पराजित भएका थिए ।
पोखरेल एमालेको स्कुल विभागको उपप्रमुखसमेत बने । उनको प्रशिक्षण सधैँ जबज केन्द्रित हुने भएकाले पार्टीका कार्यकर्ताले उनको प्रशिक्षण रुचाउने गरेको विश्लेषकहरु बताउँछन् । जबजप्रति प्रतिवद्ध नेता भएकाले एमालेको आन्तरिक राजनीतिमा निर्णायक हस्तक्षेप गर्दै आएकी राष्ट्रपति भण्डारीले पनि पोखरेलाई साथ दिनेछन् । यसैले पोखरेल महासचिव बन्नसक्ने उनको पक्षमा बोल्ने नेताहरुको भनाइ छ ।
तर, पोखरेलका आलोचक पनि छन् । उनका आलोचकहरु माधव नेपाल समूह बाहिरिँदा आफ्नो क्षेत्रमा पार्टीलाई बलियो बनाउन नसकेको बताउँदै आएका छन् । साथै, मुख्यमन्त्री बन्दा पनि पार्टीभित्रको विवाद मिलाउन नसकेकाले पोखरेलले महासचिव चलाउन नसक्ने उनका आलोचनाको तर्क छ ।
यस्तै, नवौँ महाधिवेशनमा पोखरेलसँग ६ मतले पराजित सुरेन्द्र पाण्डे लामो समय माधवकुमार नेपालसँग नजिक थिए । तर, एमालेबाट विभाजन हुने समयमा पाण्डे पार्टी विभाजनको विपक्षमा उभिएर नेपाललाई साथ दिएनन् । अहिले उनी महासचिवका लागि तेस्रो पटक प्रयास गर्दैछन् । पाण्डे तत्कालीन नेकपाको महासचिव हुने अन्तिम तयारीमा रहेपनि ओलीले पौडेललाई रोजेका थिए । एमाले दुई समूहमा बाँडिएको समयमा नेपाल–खनाल पक्षबाट उनले महासचिवकै हैसियतमा काम गरेका थिए ।
यसपटक उनी अध्यक्ष ओलीलाई रिझाएर महासचिव बन्ने लाइनमा छन् । पाण्डेकै गृह जिल्लामा १०औँ महाधिवेशन गर्न लागेको एमालेले मूल व्यवस्थापन समितिको सहसंयोजकको जिम्मेवारी दिइएकाले उनलाई ओलीले केही न केही संकेत गरेको हुनसक्ने अनुमान गरिएको छ ।
यसैगरी घनश्याम भुसालले समेत महासचिवका लागि तयारी गरेका छन् । उपमहासचिवको जिम्मेवारी पूरा गर्दै गरेका भुसालले १० भाई समूहको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका थिए । तर, भुसालले अहिलेसम्म कुन पदमा उम्मेदवारी दिने भन्ने बिषयमा अलमलमा छन् ।
१० भाई समुहबाट उपाध्यक्ष डा. भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि भुसाल अहिले अलमलमा परेका हुन् । एमालेभित्र वैचारिक नेताको रुपमा चिनिने भुसाल लामो समय नेपाल समूहमा रहेका काम गरेका थिए ।
यता, एमाले सचिव रहेका पृथ्वीसुब्बा गुरुङले समेत महासचिवमा उम्मेदवारी दिने उद्घोष गरेका छन् । गणडकी प्रदेशका पुर्वमुख्यमन्त्री रहेका गुरुङ सर्वसम्मत महासचिव हुने रणनीतिमा रहेका छन् ।
ओली निकटका गुरुङ ओली समूहबाटै महासचिवको उम्मेदवार भएका पौडेल र पोखरेलसँग समेत आन्तरिकरुपमा प्रतिपस्पर्धा गरिरहेका छन् । ओली समूहबाटै तीन नेताले महासचिवमा दाबेदारी पेश गरेपछि अहिले ओलीलाई समेत नेताहरुको व्यवस्थापन गर्न सकस भएको छ ।