काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको योजनामा आफ्नै गुटका नेताहरू तगारो बनेपछि उनको इच्छाविपरित १०औँ महाधिवेशन चितनवको सौराहमा सम्पन्न भएको छ । महाधिवेशनले उनलाई अध्यक्ष त निर्वाचित गर्यो भन्दा हुन्छ । तर, निर्विकल्प अध्यक्ष बन्ने ओलीको सपना भने चकनाचुर भयो । एमालेको एक्लो अध्यक्ष बन्नकै लागि उनले माधवकुमार नेपाललाई पार्टी परित्याग गर्न बाध्य बनाएका थिए ।
ओलीलाई अहंकारको पहाडबाट झार्ने नेताहरूको प्रयासमा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत अन्मिमा साथ दिनुपरेको एमाले उच्च स्रोतले दृष्टिलाई बताएको छ । उनको अहंकारी शैलीकै कारण १२ गते दिनभर महाधिवेशनका कुनै कारबाही अगाडि बढेनन् । र, रातभर महाधिवेशनमा २२ सय ८७ प्रतिनिधिले अनिँदो भएर रात बिताउनुपर्याे ।
ओलीको भित्री योजना
समाचार सूत्रका अनुसार ओलीले महाधिवेशनबाट पारित गर्ने नेतृत्वको नामावली काठमाडौंबाटै बोकेर लगेका थिए । उनले चितवन पुग्नासाथ ती नामहरू प्रदीप ज्ञवालीको हातमा थमाए । ती नाममाथि आवश्यक काँटछाँट गर्नका लागि विष्णु पौडेललाई अह्राए । ज्ञवाली उद्घाटन समारोहको उद्घोषणमा व्यस्त भएपछि त्यो अवधिभर पौडेलले ती नामहरू केरमेट गर्दै साँझ सौराहास्थित होटल पार्क सफारीको कोठा नम्बर ४०१ मा ओलीलाई बुझाए ।
तिनै नामलाई ११ गते बिहान बन्दसत्रमा वाचन गर्ने र पारित गरेर १२ गते बिहान समापन समारोह गर्दै महाधिवेशन सम्पन्न भएको घोषणा गर्ने ओलीको योजना थियो । त्यसअघि नै भीम रावलले अध्यक्षमा र घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेर चुनौती दिइसकेका थिए । ओलीले चाहेका थिए, १२ गते रावल र भुसालबाहेकको पदाधिकारी सूची सार्वजनिक गर्ने र हलबाट ध्वनी मतले प्रस्ताव पारित गर्ने । तर, आफ्नै कोटरीभित्र कुरा नमिल्दा उनका योजनाहरू लथालिंग हुन पुगे ।
शीतलनिवासको फोन
ओलीले वरिष्ठ उपाध्यक्ष बनाउन चाहेका ईश्वर पोखरेल त्यही पदमा निर्विरोध भए । तर, सुवास नेम्वाङले निरन्तर गरिरहेको दाबीलाई साम्य पार्न उनका लागि निकै ठूलो चुनौतीको विषय बन्यो । पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउनका लागि ओलीले चाहेअनुसारका महासचिव त्याग्नुपरेको थियो । ओलीले विष्णु पौडेललाई महासचिव बनाउन चाहेका थिए । तर, राष्ट्रपति विद्या भण्डारीले महाधिवेशनस्थलमै फोन गरेर कि सुवास नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्यो कि शंकर पोखरेललाई महासचिव दिनैपर्ने दबाब दिएको एमाले स्रोतले दृष्टिलाई बतायो ।
शुरु–शुरुमा ओलीले राष्ट्रपति भण्डारीलाई ‘म मिलाउँदैछु’ भनेर टारिरहेका थिए । तर, ‘मिलाउने’ मेलोमेसो कतैबाट नआएपछि सुवास र शंकरले विद्यालाई तारन्तार फोन गरेर ओलीलाई दबाब दिइरहे । आफ्नो कुराबाट तलमाथि नभई अडिएका ओलीले पछि–पछि त राष्ट्रपतिको फोन पनि नउठाई आफ्नो योजनाअनुसारका नाम बन्दसत्रमा पेश गर्न खोजे । राष्ट्रपतिले घरी विष्णु पौडेल त घरी शंकर पोखरेलको मोबाइलबाट ओलीसँग कुरा गर्नुपर्ने अवस्था पनि आयो, पौडेल निकट स्रोतले दृष्टिलाई बतायो ।
लामो समयको रस्साकस्सीपछि ओली शंकर पोखरेललाई महासचिव बनाउन बाध्य भए । तर, ओलीका दुःख त्यतिले सकिएनन् । उनले बन्दसत्रमा पदाधिकारी र केन्द्रीय सदस्यका नाम प्रस्तुत गरेपछि आफ्नै समूहका नेताहरूले असन्तुष्टि व्यक्त गर्ने खतरालाई हल गर्न सकेनन् । फेरि त्यही फोनबाट शेरधन राई र गोकुल बाँस्कोटालाई सचिव बनाउनै पर्ने दबाब आयो । गोकुलको उम्मेदवारी घोषणासँगै महेश बस्नेतले पनि त्यही पदमा उम्मेदवारी घोषणा गरेका थिए ।
ओलीले विद्यालाई सम्झाउँदै भने, ‘गोकुललाई त्यताबाट ‘ब्याक’ गराउने भए महेशलाई मैँ मिलाउँछु ।’ यसपछि गोकुल र महेश दुबैलाई ‘रिङआउट’ गरियो । यतिसम्मकी यी दुईलाई ओली बसेको होटल पार्क सफारी वरिपरि पर्नसम्म दिइएन । यीसहित अरु थुप्रै नेताले ओलीलाई भेट्ने प्रयास गरे । तर, कसैले भेट पाएनन् ।
रावललाई लखेट्ने योजना
बन्दसत्रस्थलमा भीम रावलका केही समर्थकले बाँडिरहेको उनको पर्चा खोस्ने र बाँड्नेहरूलाई लखेट्ने काम त सबैले देखिने गरी भयो । सामाजिक सञ्जालबाट भाइरल बन्यो । तर, ओलीको योजना थियो– रावललाई बन्दसत्र हलबाटै लखेट्ने । यो प्रयोजनका लागि महेश बस्नेतले धादिङ, चितवन र हेटौँडाबाट केही युवालाई तयार पारेर त्यहाँ लगेका थिए । तर, यस्तो योजना सुन्नेबित्तिकै प्रदीप ज्ञवाली र विष्णु पौडेलले आपत्ति जनाए ।
यदि ११ गते राति केन्द्रीय सदस्यहरूको सूची सार्वजनिक गरिनासाथ उम्मेदवारी मनोनयन खुलाइएको भए भीम रावललाई महेश बस्नेतले तयार पारेका युवाहरूबाट घेराउने र मनोनयनका लागि निर्धारित समयसम्म कि त्यहाँबाट लखेट्ने, कि घेरेरै राख्ने योजना थियो । यसो गरिँदा नकारात्मक सन्देश जाने भएका कारण अरु कुनै किसिमले उनलाई उम्मेदवारी दिनबाट बञ्चित गराउने प्रयास भयो ।
यही योजनाअनुसार, बन्दसत्रमा जब भीम रावल बोल्न तम्सिन्थे, तब होहल्ला गरेर उनलाई बोल्नै नदिने प्रयास गरियो । बन्दसत्र हलभन्दा बाहिर जहाँ–जहाँ भीम रावल पुग्थे, युवाहरूको त्यो टीम उनको अघिपछि नै हुन्थ्यो । उनले कुनै भाषणा वा कुनै समूहमा कुरा राख्न गए भने होहल्ला गरेर बिथोल्ने योजना थियो । त्यस योजनाअनुसार जहाँ–जहाँ भीम रावल पुग्थे, त्यहाँ–त्यहाँ हल्लाखल्ला गरेर वातावरण बिगारिँदै थियो । उनका विरुद्धमा उक्त टीमले नाराबाजीसमेत गरेको थियो ।
‘घाँडो’हरु पन्छिए
यसपटक महाधिवेशनबाट तीन समूहको व्यवस्थापन गर्न ओलीका निम्ति सबभन्दा चुनौतीपूर्ण थियो । एउटा समूह हो, वर्र्षाैंदेखि आफ्नो साथमा रहेका नेताहरूको । दोस्रो थियो, पूर्वमाओवादीहरु र तेस्रोमा १०बुँदेका नाममा अन्तिममा माधव नेपाललाई धोका दिनेहरू । १०बुँदे पक्षधरमध्ये ओलीका लागि योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेहरू निक्कै प्यारा भइसकेका थिए । तर, ‘घाँडो’ बनेका थिए, घनश्याम भुसाल र भीम रावल । उनले पदाधिकारी सूचीबाटै यी दुई ‘घाँडो’ पन्छाइदिए । त्यसपछि उनले हुन चाहेको ‘निर्विकल्प अध्यक्ष’ को बाटोमा समस्या आयो । र, ओलीको दम्भ तोडाउन रावलले अध्यक्ष पदमा उम्मेदवारी दिन बाध्य भए ।
ओलीले बोकेका केही मुख्य–मुख्य ‘दुःख’हरू यसचोटिलाई पन्छिएका छन् । ती दुःख हुन्, गोकुल बाँस्कोटा, महेश बस्नेत, डोरमणि पौडेल, विशाल भट्टराई, निरुदेवी पाल, दुर्गा प्रसाईं । गोकुल, महेश, विशाल र निरुले सचिव पदमा दावी गरेका थिए । दुर्गा प्रसाईंले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका थिए । तर, पदाधिकारी त टाढाको कुरा, विशाल भट्टराईजस्ता इमान्दार कार्यकर्ता केन्द्रीय सदस्यबाटै कत्लेआम भए । दुर्गा प्रसाईँजस्ता धुर्त व्यापारी पार्टी प्रवेश गरेको दुई महिनामै केन्द्रीय सदस्य नबनाइनेभित्र परे । यी ‘दुःखी’हरूको अनुहार सौराहा पुग्दा ओलीले हेर्नसम्म रुचाएनन् ।
‘दुःखीहरूको’ लस्कर
ओली गुटका पुराना नेतामध्ये उपाध्यक्षका लागि उम्मेवादवारी घोषणा गरेका किरण गुरुङ, सचिव पदमा उम्मेदवारी घोषणा गरेका यामलाल कँडेल, शेरबहादुर तामाङ, हिक्मत कार्की, शेरधन राई, खगराज अधिकारी, कर्ण थापा, राधा ज्ञवालीहरू केन्द्रीय सदस्यमै सीमित हुन बाध्य भए ।
प्रदेश २ मा रघुवीर महासेठ र प्रभु साहको झगडा नमिल्दा यी दुबैले पदाधिकारी पाएनन् । माओवादीबाटै आएका विषमलाल अधिकारी दनुवार केन्द्रीय सदस्यसम्म परेनन् । अघिल्लो केन्द्रीय कमिटी सदस्य रहेका १०बुँदे पक्षधरमध्ये पूर्वराजदूत टंक कार्की, कीर्तिपुरका सुरेन्द्र मानन्धर, भोजपुरका हरिकुमार राई, दामोदर भण्डारीहरू केन्द्रीय सदस्यबाटै गलहत्याइएका छन् । यसमध्ये टंक कार्कीले सचिव पदमा उम्मेदवारी दिने हिम्मत गरेर ओलीलाई चुनौती दिए ।
केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्ने अष्टलक्ष्मी शाक्यका कार्यकर्ताहरू भक्तकुमारी लामा, क्रान्ति बुर्लाकोटी, सीता थापा, इन्दिरा पन्तहरू चितवनबाट रित्तै फर्केका छन् । यीमध्ये इन्दिरा पन्त एकीकृत समाजवादीका केन्द्रीय सदस्य वसन्त मानन्धरकी पत्नी हुन् । क्रान्ति बुर्लाकोटी एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य गुरु बुर्लाकोटीकी छोरी हुन् ।
सीता थापा सिन्धुपाल्चोकका नेता सुवास कर्मचार्यकी खास कार्यकर्ता हुन् । सीता केन्द्रीय सदस्य हुने कुरा त टाढाकै कुरा भयो, स्वयं सुवास कर्मचार्यसमेत केन्द्रीय सदस्यमा अटाउन सकेनन् । उनीहरू ‘घरमा कुन अनुहार देखाउने’ भन्दै सौराहामा बिलौना गरिरहेका थिए । यो समाचार तयार पार्दासम्म निर्वाचनको परिणाम घोषणा भएको छै । आजै मतपरिणाम घोषणा हुँदैन । त्यसपछि थप प्रष्ट हुँन्छ ।