Logo
Logo

इजरायल जाने श्रमिकलाई काठमाडौंका पाँच वटा अस्पतालमा खोपको व्यवस्था


819
Shares

काठमाडौं । रोजगारीका लागि इजरायल जाने तयारीमा रहेका नेपाली श्रमिकले कोरोनाविरुद्धको खोपको व्यवस्था हुने भएको छ । इजरायल जान अन्तिम छनोटमा परेका युवाका लागि सरकारले काठमाडौंका विभिन्न ५ वटा अस्पतालमा खोपको व्यवस्था गर्न सिफारिस गरेको हो ।

वैदेशिक रोजगार विभागले खोपको व्यवस्था गर्न सिफारिस गरेसँगै रोजगारीका लागि इजरायल जाने तयारीमा रहेका श्रमिकलाई सहज भएको छ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार पठाउने प्रयोजनका लागि पिवाबाटा छनोट भएका युवामध्ये कोभिड खोप लगाउन बाँकी रहेका युवाले काठमाडौंका ५ अस्पतालबाट खोप लगाउन सक्ने विभागले जनाएको छ ।

विभागका अनुसार वीर अस्पताल, निजामति सेवा अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र सशस्त्र प्रहरी अस्पतालमा खोप लगाउन सक्नेछन् । विभागका निर्देशक डम्बर सुनुवारले कोरोनाविरुद्धको दुवै मात्रा खोप नलगाएका युवालाई पहिलो र दोस्रो खोप अन्तर कम भएको खोप लगाउन उपयुक्त हुने सुझाव दिइएको बताए । तर, खोप लगाउन जानुअघि सम्बन्धित युवाले विभागको इजरायल शाखामा अनिवार्य रुपमा सम्पर्क गर्नुपर्ने छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका लागि इजरायल जाने नेपाली युवालाई कोरोनाविरुद्धको खोप व्यवस्थापन गर्न यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गरिसकेको छ ।

हाल इजरायल जान स्वास्थ्य परीक्षण गरिरहेका १ हजार १७५ श्रमिक मध्येबाट परीक्षण रिपोर्ट पास भएका श्रमिकलाई कोरोनाविरुद्धको खोप व्यवस्थापन गर्न मन्त्रालयले पत्राचार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्