Logo
Logo

प्रेस सेन्टरको कर्णाली अध्यक्षमा शर्मा


378
Shares

काठमाडौँ । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश अध्यक्षमा प्रतीक इच्छुक शर्मा सर्वसम्मत चयन भएका छन् । कर्णाली प्रदेश समितिको मंगलबार सम्पन्न दोस्रो अधिवेशनले अध्यक्ष शर्माको नेतृत्वमा ४१ सदस्यीय सेन्टरको कर्णाली प्रदेश समिति चयन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा गणेश सिर्पाली (रुकुमपश्चिम) खुला उपाध्यक्षमा पूर्णप्रसाद चौलागाई (जुम्ला), प्रमुख सचिव धर्मराज जिसी (सुर्खेत), तिलकराज वली (सल्यान) विवशकुमार सेजुवाल (सुर्खेत), युद्धजित शर्मा (जाजरकोट), अर्जुनप्रसाद भट्टराई (कालीकोट), उपेन्द्र न्यौपाने (जुम्ला) चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष ओपेन्द्र शर्माले जानकारी दिए ।

त्यस्तै, महिला सचिवमा जाजरकोटका देवका लामिछाने र दलित सचिवमा हुम्लाका तिलसरा विक चयन भएको अध्यक्ष शर्माले बताए । त्यस्तै, अशोककुमार सिंहको संयोजकत्वमा तीन सदस्यीय अनुशासन, रमेश रावलको संयोजकत्वमा सल्लाहकार समिति र लेखा समिति गठन गरिएको छ ।

अधिवेशनको उद्घाटन नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश इञ्चार्ज शक्तिबहादुर बस्नेतले गर्दै मिसन र व्यावसायिकताको संयोजनबाट पत्रकारिता अघि बढेको बताए । इञ्चार्ज बस्नेतले आजको राज्य संरचना र व्यवस्थाको आधार माओवादी नै भएको जिकिर गर्दै यसबाट प्राप्त भएका अधिकार र उपलब्धिको रक्षार्थ कलम चलाउन पत्रकार सञ्चारकर्मीलाई आग्रह गरे ।

उद्घाटनको क्रममा केन्द्रका प्रदेश अध्यक्ष राजकुमार शर्माले कम्युनिष्ट आन्दोलनको फोहोर सफा गर्ने, मौलिक अधिकारको रक्षा र समाजवादी क्रान्ति यात्रमा प्रेस सेन्टरको कलमले अगुवाइको भूमिका खेलोस् भन्ने शुभकामना व्यक्त गरे ।

प्रदेश सचिव रामदीप आचार्यले २१ शताब्दीको सूचना र प्रविधिको युगमा आफूलाई प्रेस सेन्टर नेपालले समयसापेक्ष बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

प्रदेश समितिका पदाधिकारी तथा सम्पूर्ण सदस्यलाई अध्यक्ष शर्माले पद तथा गोपनीयनताको शपथग्रहण गराएका थिए । अधिवेशनमा प्रेस सेन्टर नेपालका केन्द्रीय कार्यालय सदस्य गोविन्द रोका (सचिन), लक्ष्मी पुन, कर्णाली प्रदेश इञ्चार्ज ध्रुवविक्रम बुढाथोकीलगायत केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्यको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्