गीतसंगीत नशा हो । संगीतमा डुबेपछि कतिपयलाई फुत्किनै गाह्रो हुन्छ । गीतकार, संगीतकार तथा गायिका सोनिका लामालाई यस्तै भएको छ । गीतसंगीतको नशामा डुबेपछि डेढ दशक बितेको उनले पत्तै पाइनन् । २०६१ सालदेखि संगीतमा लागेकी सोनिकाले १२ वटा एल्बम ल्याइन् । डेढ सयभन्दा बढी फुटकर गीत गाइन् । तर, उनी खुसी छैनिन् । ‘संगीतलाई न छाड्न सक्छु, न त निरन्तरता दिन नै’ उनी भन्छिन्, ‘गीतसंगीतको एडिक नै भइसकेँ ।’ ‘बेसहारा’, ‘यो कस्तो प्रेम’, ‘सोनिका’जस्ता एक दर्जन एल्बम ल्याएपछि उनी केही समय ओझेल परिन् । हालै ‘आँटा पिठो’ बोलको गीतबाट गायनमा पुनः ‘ब्याक’ भएकी सोनिका भन्छिन्, ‘अबचाहिँ गरेरै देखाउँछु ।’ गायिका सोनिका लामासँग एमपी सुब्बाको जम्काभेट :
गीतसंगीत क्षेत्रबाट लामो समय हराउनुभयो । कता जानुभएको थियो ?
म हराएकी होइन । गीतसंगीतमा भएको विकृति र विसंगति देखेर दिक्क लागेर बसेकी हुँ । ओझेलमा बसेर पनि गीतसंगीतमै सक्रिय थिएँ ।
तपाईँका श्रोता, शुभचिन्तकले हराएको आभाष गरे नि होइन र ?
त्यो हुनसक्छ । तर, गायब भएकी छैन । अहिले पनि श्रोता, दर्शककै रुची र इच्छाअनुसार गीत ल्याउने प्रयास गरिरहेकी छु । मैले भर्खरै ‘आँटा पिठो’ बोलको गीत र भिडियो ल्याएकी छु । जुन गीत श्रोता, दर्शकले एकदमै रुचाउनुभएको छ । उक्त गीतमा चार करोडले टिकटक बनाइसकेका छन् ।
गीतसंगीत क्षेत्रमा विसंगतिको कुरा गर्नुभयो, त्यो कस्तो विसंगति हो ?
मैले देखेको र भोगेको विसंगति भनेको यहाँ प्रतिभा र कलाको कदर छैन । संगीत बुझेका र सिकेकाहरू सधैं ओझेलमा छन् । यहाँ जोसँग पैसा छ, त्यो सिंगर, मोडल हुने प्रवृत्ति छ । पैसाको आडमा चर्चामा आउनेहरूले गर्दा राम्रा कलाकार गुमनाम बस्नुपर्ने अवस्था छ ।
संगीत क्षेत्रमा प्रतिभाभन्दा पैसा ठूलो भयो ?
संगीतमात्र होइन । नेपाली फिल्म क्षेत्रमा पनि यही प्रवत्ति छ । जोसँग पैसा छ, त्यो चर्चित कलाकार बन्छ । कलाकार बन्नका लागि कला र प्रतिभा चाहिँदैन । पैसा भए पुग्छ । यो एकदमै खराब प्रवृत्ति हो ।
गीतसंगीतको अध्ययन गरेरै तपाइँ आउनुभएको हो ?
मैले नेपालमा चार वर्ष संगीतको अध्ययन गरेँ । त्यसपछि भारतको इलाहवादबाट डिप्लोमा गरेँ । गीतसंगीत जति सिके पनि गहिराइमा पुग्न सकिँदैन । तर, दुःख लाग्छ कि यहाँ संगीतको अलिकति पनि ज्ञान नभएकाहरू पैसाले गर्दा रातारात ‘भाइरल’ बन्ने गरेका छन् ।
के सोचेर गीतसंगीतमा लाग्नुभएको थियो ?
–नेपालको एक कसुल गीतकार, संगीतकार र गायिका बन्ने सपनासहित यो क्षेत्रमा पाइला राखेकी हुँ । मैले नाम कमाउनु भनेको नेपालको नाम कमाउनु हो । यही सम्झेर संगीत क्षेत्रमा झण्डै दुई दशकयता संघर्ष र मिहिनेत गर्दै आएकी छु । तर, आफूले भनेजस्तो नहुने रहेछ । गीतसंगीत क्षेत्रमा पनि राजनीति हुने रहेछ ।
तर, नाम त कमाउनुभएकै छ नि होइन र ?
–खै कमाएँ भन्ने कि छैन भन्ने । मिहिनेत र संघर्ष गरेअनुसार मलाई कसैले चिन्दैनन् । बाटोमा निर्धक हिँडिरहेकी हुन्छु । जब गीत सुन्छन्, अनि मात्र भन्छन्, ‘सोनिका तपाइँ नै पो हो ।’
सुरुमा मोडलिङ पनि गर्नुहुन्थ्यो । हिजोआज किन छाड्नु भयो ?
पहिलेपहिले गर्थेँ । तर, मैले मोडलिङमा भविष्य देखिनँ । मोडलिङ गालामा रस भइञ्जेल मात्र हो । संगीत भनेको सास रहेसम्म, जीवन भएसम्म हो नि ।
गीतसंगीतमा धेरै खर्चिनुभयो होइन त ?
मैले गीतसंगीतमा सयमसँगै पैसा पनि खर्च गरेकी छु । समयको कुरा गर्दा १७ वर्ष पूरा भयो । दुई करोडभन्दा बढी पैसा सिध्याएकी छु । तर, अब खर्च गर्दिनँ । कुनै समय अर्काको गीत गाउन घाँटीको सिक्री बेचेकी छु । मेरो बाबाको सपना पूरा गर्न गाइरहेकी छु । बाबाले मलाई गायिका बनेको रुचाउँनुहुन्छ । म सानैदेखि गाउन रुचाउँने र गुनगुनाउँने भएकाले घरमा मलाई तारादेवी भन्छन् । अहिले पनि घरको मेरो नाम तारादेवी नै हो ।
आफूले रोजेको पेशाबाट सन्तुष्ट हुनुहुन्छ ?
सुन्तुष्ट नै छ । तर, यो क्षेत्रमा खुट्टा तान्ने र लुट्नेमात्र भेटिने भएकाले दुःख लाग्छ । मिहिनेत गर्ने सबैले कदर र सम्मान पाउनुपर्छ भन्ने मेरो मान्यता छ ।