Logo
Logo

सरकार र समुदाय सचेत भए ओमिक्रोनबाट सुरक्षा


819
Shares

काठमाडौं । विश्वका ३५ मुलुकमा देखिएको कोरोनाको नयाँ प्रजाति ओमिक्रोन भाइरस छिमेकी मुलुक भारतमा देखिएपछि नेपालमा सतर्कता अपनाउन थालिएको छ । सरकारले ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरे पनि भारततर्फ सहजै आउजाउ हुँदा नयाँ भाइरस नेपाल प्रवेश गर्न सक्नेप्रति स्वास्थ्यविज्ञ चिन्तित छन् ।

भारतमा ओमिक्रोन भाइरस देखिएकाले नेपालमा देखापर्ने निश्चित भएको दाबी गर्दै वरिष्ठ सङ्क्रामक रोग विशेषज्ञ डा। अनुप सुवेदीले भन्नुभयो, “ओमिक्रोन प्रवेश हुन नदिन उपाय अवलम्बन गर्नुपर्छ । सङ्क्रमण अत्यधिक भएर बन्दाबन्दीको अवस्था आउँदा समस्या पर्छ ।”

उहाँले केही दिनअघि अफ्रिकी मुलुकमा देखापरेको ओमिक्रोन युरोप तथा एसियालगायतका मुलुकमा क्रमिक रूपमा फैलिँदै गएको भन्दै ओमिक्रोन भेरियन्टलाई मुलुकभित्र प्रवेश हुनबाट रोकथाम गर्न सरकार र समुदायस्तरबाटै पहल गरिनुपर्ने सुझाव दिनुभयो । विशेषज्ञ डा। सुवेदीले दक्षिण अफ्रिकामा खोप नलगाएका व्यक्ति ओमिक्रोनबाट बढी सङ्क्रमित भएकाले नेपालमा पनि सबैले खोप लगाउनैपर्ने बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले ओमिक्रोन फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै थप सतर्कता अपनाउन सुरु गरिएको जानकारी दिनुभयो ।

“भारतमा भाइरस देखिएपछि खुला नाका भएकोले नेपालमा देखिन सक्ने सम्भावना भएरै सीमामा कोरोना परीक्षण गर्ने कार्य भइरहेको छ,” उहाँले भन्नुभयो, “कोरोना परीक्षण कार्यलाई निरन्तरता दिनुका साथै पोजेटिभ देखिएकालाई क्वारेन्टाइनमा राख्ने कार्य भइरहेको छ ।”, यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्