Logo
Logo

प्रकृतिलाई बिगारेर होइन सिँगारेर विकास गर्नुपर्छ : राष्ट्रपति भण्डारी


441
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई बिगारेर होइन सिँगारेर मुलुकको विकास गर्नुपर्ने बताएकी छन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आज यहाँ आयोजना गरेको राष्ट्रिय कार्यक्रमलाई सम्बोधन गर्दै उनले नीतिनिर्माणका सबै तहमा गहिरोसम्म स्थापित गर्नुपर्नेमा जोड दिइन् ।

उनले मानव र प्रकृति एकअर्कासँग जोडिएको उल्लेख गर्दै हाम्रो अस्तित्व पर्यावरणको सन्तुलनसँग गाँसिएको बताइन् । उनले भनिन्, ‘यसलाई गहिरोसँग आत्मसाथ गर्दै जलवायु परिर्वतनले ल्याउने चुनौतीको सामना गर्न समुदायस्तरदेखि नै गरिने प्रयासमा महासङ्घजस्ता संस्थाको महत्वपूर्ण भूमिका रहन्छ ।’

राष्ट्रपति भण्डारीले वनजङ्गलको संरक्षणद्वारा प्रकृतिलाई जोगाउने कार्यभार र अर्कोतिर महिला हिंसा उन्मूलनलगायत विविध सामाजिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकामा महासङ्घलाई धन्यवाद दिइन् ।

उनले वनको दिगो व्यवस्थापनका माध्यमबाट गरिने जनताको जीविकोपार्जनजस्ता कार्यले वातावरण र जैविक विविधताको संरक्षणका साथै जलवायु अनुकूलन र न्यूनीकरण, सामुदायिक विकास तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

महासङ्घले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न चेतनामूलक सामाजिक कार्यक्रम सञ्चालन गरेकामा खुशी व्यक्त गर्र्दै राष्ट्रपति भण्डारीले अभियानमा सक्रिय भई सभ्य समाज निर्माण गर्ने कार्यमा सफलता मिलोस् भन्ने शुभकामना दिइन् ।

प्रतिक्रिया दिनुहोस्