Logo
Logo

राप्रपामा पुस्ता हस्तान्तरण


945
Shares

काठमाडौं । ३१ वर्षअघि स्थापना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण भएको छ । ५६ वर्षीय राजेन्द्र लिङदेन राप्रपा अध्यक्षमा निर्वाचित भएसँगै पुस्ता हस्तान्तरण भएको हो ।

एकता महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको नतिजा आइतबार बिहान सार्वजनिक भएको हो । निर्वाचन परिणामअनुसार लिङदेन १ हजार ८ सय १७ मत पाएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कमल थापाले १ हजार ६ सय १७ मत पाए ।

निर्वाचनबाट पार्टी नेतृत्व नयाँ पुस्तामा पुगे पनि थापाले यसलाई सहजै स्वीकार गर्न सकेको देखिएन । परिणाम सार्वजनिक हुनेबित्तिकै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई हराएको भन्दै आक्रोश पोखे ।

निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रममा समेत उनी सहभागी भएनन् । शपथग्रहण कार्यक्रममा उनलाई प्राथमिकतासाथ बोलाइएको थियो ।

लिङदेनको विजयप्रति टिप्पणी गर्दै उनको प्यानलबाट महामन्त्री पदमा विजयी भएका धवलशमसेर राणाले भने, ‘राप्रपाका कार्यकर्ताले नयाँ पार्टी बनाउन चाहेको देखियो । निर्वाचन परिणामबाट यही बुझ्नुपर्छ । अब पार्टी नयाँ ढंगले अघि बढ्छ, देश पनि नयाँ तरिकाले अघि बढ्छ ।’ चुनावी परिणामले कार्यकर्ता नेतृत्व परिवर्तनका पक्षमा रहेको पुष्टि भएको उनले बताए ।

लिङदेन २०४६ सालको राजनीतिक आन्दोलनपछि राजनीतिमा सक्रिय भएका हुन् । उनी स्थापनाकालदेखि नै राप्रपामा आबद्ध भए । २०४८ सालमा गठन भएको राप्रपा विद्यार्थी संगठनको उनी पहिलो अध्यक्ष हुन् । २०२२ सालमा पाँचथरको अमरपुरमा जन्मिएका लिङदेन सम्पन्न परिवारका होइनन् । उनी पाँचथरबाट झापा बसाइँ सरे । उनले झापाबाटै राजनीति सुरु गरे।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्