Logo
Logo

‘प्रतिगामी धारको मुख्य नेतृत्व पूर्वराजाले गरेका छन्’


4.2k
Shares

काठमाडौं । नेकपा मसालले पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाबाट कमल थापालाई हटाउँदैमा राजन्तत्र नफर्कने जनाएको छ । नेकपा मसालले वक्तव्य जारी गर्दै यस्तो जनाएको हो ।

राप्रपा ज्ञानेन्द्रको दलाली गर्ने पार्टी भएको समेत उल्लेख गदै मसालले भनेको छ, ‘राप्रपाको नेतृत्वमा हुने हेरफेरले त्यो अवस्थामा कुनै फरक ल्याउने छैन ।’ नेपालमा राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दा नै कमजोर भएकाले राजतन्त्र पुनः फर्किन नसक्ने मसालले जनाएको हो ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राप्रपाको महाधिवेशन पनि भर्खरै सम्पन्न भएको छ । त्यसमा पूर्व राजाद्वारा समर्थित पक्ष नै विजय भएको छ । पहिलेको नेतृत्वले राजतन्त्र र हिन्दू राष्ट्रका मुद्दाहरूलाई प्रभावशाली प्रकारले लैजान नसकेको भनेर नै पूर्व राजाद्वारा पहिलेको नेतृत्वलाई पाखा लगाउने काम गरिएको छ । मुख्य प्रश्न राप्रपाको नेतृत्वमा को आउँछ र को जान्छ भन्ने होइन, देशको प्रतिगामी धारको मुख्य नेतृत्व पूर्व राजाद्वारा नै गरिएको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको राप्रपाको चुनाव, त्यसमा राजाको हस्तक्षेप स्वयं राप्रपाका पूर्वअध्यक्ष कमल थापाले सार्वजनिक गरेको वक्तव्य समेतबाट यो कुरा प्रष्ट भएको छ कि त्यो (राप्रपा) कुनै स्वतन्त्र राजनीतिक संगठन नभएर पूर्वराजाको निर्देशनमा चल्ने एउटा दलाल राजनीतिक ‘पार्टी’ मात्र हो ।’

मसालद्वारा जारी विज्ञप्ति

गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्ने नीतिहरुले देशको ऐतिहासिक अवस्था र जनचेतना समेतसित मेल खाँदैनन् । त्यसैले त्यो दिशामा उठाइएका पूर्वराजाका प्रयत्नहरु लगातार असफल हुँदै गएका छन् । अहिलेको राप्रपाको महाधिवेशनबाट त्यो कुरा अरु छर्लङ्ग भएको छ । आगामी दिनमा पनि तिनीहरुको पराजय निश्चित छ ।

राजावादीहरुको त्यस प्रकारको असफलता र त्यो कारणले उनीहरुमा पैदा भएको निराशा र कुण्ठाका कारणले पूर्वराजा र राजावादीहरुले गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध आफ्नो अभियानलाई अरु तिव्र बनाएर लैजाने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । उनीहरुको त्यस प्रकारको प्रतिगामी अभियानमा ओली पक्ष पनि थपिएको छ र भारतका कट्टर हिन्दुवादी शासकवर्गहरूले पनि उनीहरुलाई बल पु¥याइरहेका छन् ।

उक्त कारणहरूमाथि विचार गरेर प्रतिगामी खतरालाई हल्का रूपमा लिनु पनि सही हुने छैन । त्यसकारण प्रतिगमनको खतराका विरुद्ध तथा आन्दोलनद्वारा प्राप्त उपलब्धिहरूको रक्षाका लागि उच्च जनचेतना र आन्दोलन उठाउन हामीले लगातार ध्यान दिनुपर्ने आवश्यकता छ । त्यसका लागि लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर सारा शक्तिहरूमा उच्च प्रकारको सतर्कता र ऐक्यबद्धताको आवश्यकता छ ।

राजावादी वा अन्य कतिपय पक्षहरूले राष्ट्रियताको रक्षाका लागि राजाको भूमिका आवश्यकता भएको कुरामा जोड दिने गरेका छन् । तर, हामीले के बिर्सनु हुँदैन भने देशमा राजाको निरङ्कुश शासन भएको बेलामा नै कालापानीमा भारतीय सेनाले कब्जा गरेको थियो र त्यसका विरुद्ध तात्कालिक शासकहरुले एक शब्द पनि उच्चारण गरेका थिएनन् । उनीहरुले नेपालको राष्ट्रियता र सार्वजनिकताका विरुद्ध कैयौँ असमान सन्धिहरु पनि गरेका थिए ।

अहिले पनि उनीहरुले भारतीय साम्राज्यवादसित साँठगाँठ गरेर नेपाललाई हिन्दु राष्ट्र बनाउने र राजतन्त्रको पुनस्र्थापना गर्ने प्रयत्न गरिरहेका छन् । त्यो अवस्थामा राजाद्वारा राष्ट्रियताको रक्षा हुन्छ भनेर सोच्नु राजनैतिक दिवालीयापन नै हो ।

प्रतिक्रिया दिनुहोस्